सोमवार, अशोज ८, २०८०

चैतेधानमा डढेलो लागेपछि किसान चिन्तित

सप्तरी, ८ जेठ । किसानहरुलाई कहिले बीउको अभावका कारण पिरलो हुने त कहिले मल अभावका कारण तर सप्तरीका किसानहरुलाई भने यतिखेर लामो समयदेखि वर्षा नभएको र नहरमा समेत पानी नछाड्दा चैते धानबालीमा डढेलो लागेकोले अर्को चिन्ता थपिएको छ ।

सिँचाइ हुने आशामा चैतेधान रोपाइँ गरेका सप्तरीका किसान समयमा वर्षा नभएको र नहरहरूमा समेत पानी नछाडिएका कारण चैते धानबालीमा डढेलो लागेका कारण चिन्ता बढेको सप्तरीको इटहरी विष्णुपुर–५ का किसान भूपेन्द्र मण्डल बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ–‘‘धानबाली डढेलो लागेर मर्न थालेका छन् जसका कारण लगानी र मिहिनेत दुवै डुब्ने हो कि भन्ने चिन्ता बढेको छ ।”
पश्चिमी कोसी नहरमा पानी नछोड्दा कतिपय किसानले चर्काे मूल्य खर्चेर अहिले पानी तान्ने मोटरको प्रयोग गरी सिँचाइ गरिरहेका छन् भने कतिपय किसान वर्षा हुने पर्खाइमा बसिरहेका छन् ।
वर्षा हुन्छ वा वर्षा नभए पनि कोसी नहरमा पानी छोड्दिहाल्छ कि भन्ने आशामा चैतेधान लगाए”–सप्तरीको नर्घाेका किसान हरि मण्डल भन्नुहुन्छ–‘‘धानबाली लगाइसके पनि अहिले न त वर्षा भएको छ न त नहरमा पानी नै छाडेको छ ।”
कोसी नहर र चन्द्र नहर छेउछाउका सप्तरीको इटहरी विष्णुपुर, बरही बिरपुर, नर्घाे, कमलपुर औरही लगायतका १२ वटाभन्दा बढी गाविसमा चैतेधान किसानले लगाउँदै आएका छन् ।
यसैबीच चैतेधान लगाउने बेलामा वर्षा नभएको र सिँचाइकै अभावमा धानबाली सुक्न थालेका कारण यो वर्ष सप्तरीमा चैतेधान उत्पादनमा ह्रास आउने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: बिहिबार, जेष्ठ ८, २०७१