शुक्रबार, चैत्र १६, २०८०

२५ पैसा चोरेर घरबाट भागेका गौतम सबैका लागि उदाहरणीय

  • राजेश बर्मा
पात्लेखेत (काभ्रे) : भनिन्छ, बाह्र वर्षपछि खोला पनि फर्किन्छ। यो उक्ति काभ्रे पात्लेखेतका रामबहादुर गौतमको जीवनमा पनि मिल्छ। २५ पैसा चोरेर भागेका रामबहादुर गौतम १२ वर्षपछि घर फर्किएका छन्। घर फर्किएको ६ महिना नपुग्दै उनलाई गाउँलेले देउताको विशेषण दिन थालेका छन्।
उनलाई १२ वर्षको संघर्षले धेरै कुरा सिकाइसकेको छ। ४५ बर्से गौतमले गाउँ छाडेपछि काठमाडौंमा ज्यामीदेखि बालुवा उठाउने र लोड तथा अनलोडसम्मको काम गरे। विगत सम्झँदै उनी भन्छन्, ‘कति रात काठमाडौंका विभिन्न पाटीपौवामा भोकभोकै बिताएँ।’ रात्रीकक्षा पढ्दै दिउँसो विभिन्न ठाउँमा काम गर्दै जोहो गरेको पैसाले कुलेश्वरस्थित गौतमश्री सहकारी संस्था स्थापना गरेपछि उनका दु:खका दिन सकिँदै गए।
अहिले आफ्नै गाउँमा उनले तीन सय रोपनी जग्गा खरिद गरेर गौतमश्री अर्गानिक गाइ फार्म र अर्गानिक कृषि फार्म खोलेका छन्। विकास पुग्न नसकेको गाउँमा बाटोमात्रै नभएर स्कुल पनि निर्माण गरिदिएका छन्। महिनाको २० हजारभन्दा बढी तलबसहित ४६ जनालाई रोजगारी दिएका छन्।
काठमाडौंमा कृषिजन्य मेसेनरी उपकरण आयात गरी बिक्रीवितरणसमेत गर्ने गौतमले गाउँमा स्थापना गरेको गाई फार्म अवलोकन गर्न पुगेका मुख्यसचिव लीलामणि पौडेल शनिबार दंगै परे। गौतमलाई भेटेर पौडेलले भने, ‘तपाइँ प्रेरणाको स्रोत हुनुहुन्छ।’ विदेशीको रकम र अनुदानले कुनै चमत्कार नहुने बताउँदै मुख्यसचिव पौडेलले आफ्नै सीप र जाँगरले मात्र चमत्कार गर्न सक्ने धारणा व्यक्त गरे। ‘नेपालमा चमत्कार गर्न कुनै विदेशी आउनुपर्दैन’, उनले भने, ‘विदेशीको रकम र अनुदान पनि चाहिँदैन। हामी आफैंले गर्नुपर्छ।’
नौ करोडको लगानीमा फार्म सञ्चालनमा ल्याएका गौतमले कुल लगानीमध्ये ६० प्रतिशत आफ्नो र बाँकी ४० प्रतिशत विभिन्न ब्यांकबाट ऋण लिएका छन्। गाईपालन फार्ममार्फत वैदेशिक रोजगारमा जाने युवाशक्तिलाई रोक्ने गौतमको लक्ष्य छ। गौतमले स्थानीय बासिन्दाले गाईपालन गरे आफुले नि:शुल्क गाई किनिदिने घोषणासमेत गरेका छन्।
‘वैदेशिक रोजगारमा सोचेजस्तो फाइदा छैन’, उनी भन्छन्, ‘खाडी मुलुकमा नेपालीको अवस्था कहालीलाग्दो छ।’ वैदेशिक रोजगारमा गएका नेपालीको अवस्था हेरेरै आफूले गाउँमा कृषि फार्म स्थापना गर्ने अठोट लिएको बताउँदै उनले भने, ‘फार्ममार्फत त्यस्ता युवालाई स्वदेशमै रोजगारी दिने मेरो लक्ष्य छ।’
गौतमको फार्ममा अहिले सयभन्दा बढी उन्नत जातका गाई तथा दुई सयभन्दा बढी बाख्रा छन्। फार्मबाट दैनिक एक हजार लिटर दुध उत्पादन गरेर काठमाडौंको कुलेश्वरस्थित बिक्रीकेन्द्रमार्फत उनी आफैंले बिक्री गर्छन्। आगामी दुई वर्षभित्र पाँच सयको संख्यामा गाई र त्यति नै बाख्रा पुर्‍याउने तथा बंगुर पनि थप्ने गृहकार्यमा उनी उनी जुटेका छन्।
फर्मबाट उत्पादित दुग्धजन्य पदार्थ तथा बंगुरको मासु नेपालको तारे होटेलसहित चीन, सिंगापुरलगायतका मुलुकमा निर्यात गर्ने गौतमले योजना बनाएका छन्। पशुपालनका लागि आवश्यक पर्ने चारोका लागि उनले सय रोपनीभन्दा बढी जग्गामा घाँस रोपिसकेका छन्। गौतमले पशुपालनसँगसँगै अर्गानिक फर्सी, काँक्रा, प्याज, बैमौसमी तरकारी तथा फलफूल उत्पादनलाई पनि निरन्तरता दिएका छन्।
रामबहादुर गौतमले मुख्य सचिबलाई गाईफर्म देखाउदैउ:  त्यही हो मेरो फर्म
फार्ममा उत्पादित दुध तथा अर्गानिक तरकारी बजार पु:याउन उनी आफैंले गाडी चल्ने बाटो बनाएका छन्। ‘कृषिसम्बन्धी अनुसन्धान केन्द्रको रूपमा विकास गर्न सडकको अभाव देखेपछि आफ्नै लगानीमा सडक बनाएको छु’, उनले भने, ‘यसबाट मलाई र गाउँका सबै बासिन्दालाई पनि फाइदा भएको छ।’ उनले सञ्चालनमा ल्याएको कृषि फार्म, सडक तथा प्राथमिक विद्यालयका कारण स्थानीय बासिन्दाले उनलाई कृषि क्रान्तिका अगुवाका साथै ‘देवता’ कै रूपमा मान्न थालेका छन्। पात्लेखेत ९ का उमेश बडाल भन्छन्, ‘कसैले वास्ता नगर्ने रामबहादुर यो गाउँका लागि ईश्वर नै बनेका छन्। उनले सञ्चालनमा ल्याएका अधिकांश फार्ममा स्थानीयलाई नै रोजगारी उपलब्ध गराएर थप गुन लगाएका छन्।’  
अन्नपूर्ण पोष्ट मा   २०७१ जेठ,४ आइतबार प्रकाशित
प्रकाशित मिति: आइतवार, जेष्ठ ४, २०७१