काठमाडौं, ३ जेठ । कृषि क्षेत्रको विकासका लागि मुलुक नै जुर्रमुराएको अवस्थामा नीजि क्षेत्र तथा गैरसकारी संस्थाहरु पनि सक्रिय हुन थालेका छन् । हरेक जिल्लाका व्यवसायिक कृषिमा युवाहरु समेत आकर्षित भईरहेका छन् । कतै कतै नमूना कृषि गरेर देखाएका छन् भने कतै कतै सरकारी अनुदान पाइन्छ कि भन्नेमा पनि क्रियाशील रहेको देखिन्छ । सरकारी सेवाबाट निबृत्त भएकाहरुले पनि कृषिमा लगानी गरिरहेका छन् । यो मुलुकको कृषि विकासका लागि महत्वपूर्ण पाइला जस्तै बन्न पुगेको छ ।
सरकारी तवरबाट कृषि क्षेत्रलाई केही मात्रामा महत्व दिएकै कारणले होला पछिल्लो समयमा व्यवसायिक कृषि फार्महरुको अनुगमन तथा निरिक्षण गर्न सरकारी उच्च अधिकारीहरु नै सक्रिय रुपमा लाग्न थालेका मात्र छैनन् । शनिबार काभ्रेका व्यवसायिक रुपमा शुरु गरिएको गाई फार्ममा मुख्य सचिव लीलामणि पौडेलले अनुगमन समेत गरेका छन् । अनुगमनका क्रममा सम्वोधन गर्दै मुख्य सचिव पौडेलले मुलुकको आर्थिक विकासका लागि रेमिट्यान्स भित्र्याउने होइन मुलुक मै युवा जनशक्तिलाई प्रयोग गरी कृषिमा आमूल परिवर्तन ल्याउनु पर्ने बताए । खाडीमा गएर ऊँट चराउनु भन्दा आफ्नै देशमा गाईपालन वा व्यवसायिक कृषि गर्ने हो भने विदेशको भन्दा बढी कमाउन सक्ने कुरामा समेत जोड दिए । व्यवसायिक रुपमा कृषि उत्पादनमा लागिरहेका वा फार्म सञ्चालन गरिरहेका किसानहरुलाई कृषि बीमा गर्न समेत मुख्य सचिव पौडेलले आग्रह गरे ।
निरिक्षणका क्रममा व्यवसायिक कृषि तथा व्यापार आयोजनाका निर्देशक योगेन्द्रकुमार कार्कीले कृषिलाई व्यवसायिकरण गरी युवाहरुलाई स्वरोजगारका लागि नेपाल सरकारले कृषिमा अनुदान उपलब्ध गराउँदै आएको बताए । व्यवसायिक रुपमा कृषि कर्म गर्नेहरुका लागि सरकारले अनुदानको व्यवस्था गरेपछि धेरै कृषि फार्महरु सञ्चालन भईरहेको समेत बताए ।
Add Comment