बिहिबार, अशोज ११, २०८०

गाई पालन व्यवसाय निराशा तर्फ

काठमाडौं, १ जेठ । विदेशबाट ल्याएको रेमिट्यान्समा दङ्ग पर्ने सरकार त्यही रेमिट्यान्सलाई समेत सदुपयोग गर्ने नीति ल्याएर बलियो बनाउन सकेको देखिँदैन । पछिल्लो समयमा कृषिलाई व्यवसायिकरण गर्ने नाममा सरकारले कतिपय कार्यक्रम सार्वजनिक गरेको भएपनि ती कार्यक्रमहरु विस्तारै विस्तारै असफल हुँदै गईरहेका छन् । कृषि विकास मन्त्रालयले युवाहरुलाई स्वरोजगारका लागि गाईपालन तर्फ आकर्षण गर्न कार्यक्रमहरु ल्याएपनि गुणस्तरीय गाई अभावका कारण गाई फार्म खोलेर बसेको युवाहरु यतिखेर निराश देखिन थालेका छन् । cow
नेपालमा उच्च गुणस्तरीय गाईको अभावका कारण लाखौं बोकेर गाई खोज्न भारतको हरियाणा पुगेर गाई खरिद गरेर ल्याउने किसानहरु भारतीय दलालहरुको चपेटामा पर्नु त छँदैछ नेपालको सीमा क्षेत्रमा आएपछि नेपाली सुरक्षार्कीहरुबाट अनावश्यक झण्झट र दुख खेप्न वाध्य भएका छन् । व्यवसायिक रुपमा गाईपालनका लागि सरकारले युवाहरुलाई आकर्षण गर्न खोजेको भएपनि गाईपालनका लागि उत्साहित युवाहरुलाई गाई अभावको समस्या भने समाधान गर्न खोजेको छैन ।
भारतको हरियाणाबाट डेढ दुई लाख प्रति गाई खरिद गरेर ल्याउँदा पनि सीमा क्षेत्रमा सुरक्षाकर्मीहरुले दिने दुखका कारण युवाहरुमा निराशा थपिन थालेको छ । केही महिना अगाडि काठमाडौंको एउटा गाई फार्मले हरियाणाबाट ३२ वटा गाई रौतहतको गौर नाकाबाट ल्याउँदा शसस्त्र प्रहरी दुख मात्र दिएनन् । रकम असुले र अलपत्र परेका गाई भनेर पक्राउ गरी भन्सार कार्यालयलाई लिलामका लागि पत्र समेत काटे । त्यत्रिमात्र मात्र नभएर ३२ वटा गाई नेपाल भारतको सीमामा अलपत्र प¥यो । गाई भित्र्याउनका लागि सरकारी कुनै पनि कार्यालयले सहयोग गरेनन् अन्ततः एउटा गाई गायव गरियो । तीन दिनको कष्टकर प्रयास पछि फार्म सञ्चालकले आफ्नै गाई फेरि लिलाममा किन्नु प¥यो । तर गायव भएको गाई काटेर मरेको नाममा फोटो मात्र उपलब्ध गराइयो ।
माथि उल्लेखित घटना हरेक दिन नेपाल भारत सीमामा नेपाली युवाहरुले खेप्नु परेको घटना हो । गाई पालनका लागि युवाहरुलाई उत्साहित गर्न खोज्ने सरकारले सहज रुपमा गाईको व्यवस्था नगरी हावादारी कार्यक्रम ल्याउनाले कृषि क्षेत्रमा उत्साहित युवाहरुमा निराशा छाउन थालेको छ ।

प्रकाशित मिति: बिहिबार, जेष्ठ १, २०७१