बिहिबार, अशोज ११, २०८०

तरकारी पसल दर्ता बिनै सञ्चालन

बाबियाचौर (म्याग्दी), ३१ वैशाख । म्याग्दी सदरमुकाम बेनीमा सञ्चालित अधिकांश तरकारी तथा फलफूल पसलहरु सरकारी निकायमा दर्ता नै नभएको र पसलको सरसफाइमा ध्यान नदिएको पाइएको छ । बजार अनुगमनका क्रममा कर कार्यालयमा दर्ता नगरी सञ्चालन भएका तरकारी तथा फलफूल पसलले मूल्यसूचीसमेत नराखेको र बिलको प्रयोग नगरेको पाइएको हो । जिल्ला प्रशासन र कृषि विकास कार्यालयको नेतृत्वमा प्रहरी र उद्योग वाणिज्य सङ्घका प्रतिनिधिको टोलीले मङ्गलबार बेनीका तरकारी तथा फलफूल पसलहरुको अनुगमन गरेको थियो । बजारका विभिन्न ठाउँमा सञ्चालित २० वटा पसलको अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालयका लेखाप्रमुख त्रिविक्रम शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार अधिकांश पसलले कर कार्यालयमा दर्ता भएर कर तिर्नका लागि प्यान नम्बर नलिएको पाइएको छ ।
अनुगमन टोलीका संयोजक जिल्ला कृषि विकास कार्यालयका बाली संरक्षण अधिकृत घनश्याम कार्कीले तरकारी तथा फलफूल पसलहरु करको दायरामा नआएको पाइएको तथा कुहिएका र सडेगलेका तरकारीसमेत बिक्रीका लागि राखिएको भेटिएको बताउनुभयो । कमजोरी सुधार गर्न सचेत बनाउँदै १५ दिनको समय दिएको  छ । दर्ता नभएका पसलका सञ्चालकलाई प्यान नम्बर लिन, मूल्यसूची अनिवार्य टाँस गर्न र पसलको सरसफाइ अवस्थाको सुधार गर्न टोलीले निर्देशन दिएको छ ।

प्रकाशित मिति: बुधबार, बैशाख ३१, २०७१