आइतवार, अशोज ७, २०८०

जगदम्बा डेरीले किसानलाई डेढ करोड दिएन

काठमाडौं, ३१ वैशाख । भक्तपुरको जगदम्बा डेरीले किसानलाई दूधको झन्डै रु डेढ करोड भुक्तानी दिन बाँकी रहेको छ । सञ्चालकबीच विवाद भएपछि डेरीले किसानलाई दूधको भुक्तानी दिन नसकेको हो ।

भक्तपुर औद्योगिक क्षेत्रमा अवस्थित सो डेरीले जगदम्बा ब्रान्डका दूध उत्पादन गर्दै आइरहेको छ । डेरी सञ्चालकका रुपमा रहेका डा ज्ञानेन्द्र धौभडेल र मृगेन्द्र सैंजु एक आपसमा आर्थिक अनियमितताको आरोप लगाउँदै डेरी जान छोडेपछि विगत छ महिनादेखि डेरीले दूधको भुक्तानी दिन नसकेको हो । सञ्चालकको विवाद भक्तपुर प्रहरीसम्म पुगेको छ ।
डेरीले दूध सङ्कलकलाई छ महिनाअघि दुई वटा चेक दिए पनि हालसम्म त्यसको भुक्तानी हुन सकेको छैन । सञ्चालकले दूध सङ्कलकलाई रु १८ र ५१ लाखका दुई चेक दिएको थियो । सो चेकको भुक्तानी नपाएपछि दूध सङ्कलक प्रहरीकोमा पुगेका हुन् ।
प्रहरीले हालै सञ्चालकमध्ये धौभडेललाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो । प्रहरी स्रोतका अनुसार डेरी नाफामा चलुञ्जेल सञ्चालकले डेरीको पैसा जग्गामा लगानी गरेको देखिन्छ । जग्गामा रकम फसेपछि दूधको भुक्तानी दिन छोडेको देखिन्छ । प्रहरीले सबै पक्षबीच छलफल गराई किसानको बक्यौता भुक्तानी गराउने प्रयास गरिरहे पनि सञ्चालकबीच सहमति हुन सकेको छैन । गत पुसदेखि राजेन्द्र सैंजुले डेरी सञ्चालन गरिरहेका छन् ।

 

प्रकाशित मिति: बुधबार, बैशाख ३१, २०७१