शनिबार, अशोज १३, २०८०

पशुपक्षीपालनमा कमी आयो

काठमाडौँ, ३० वैशाख । मुलुकमा गत वर्षको तुलनामा पशुपक्षीपालनमा कमी आएको देखिएको छ । कृषि विकास मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७०÷७१ को कृषि उत्पादनको प्रारम्भिक अनुमानको तथ्याङ्क हेर्दा यस्तो देखिएको हो ।

मन्त्रालयको प्रारम्भिक अनुमानअनुसार गत वर्षको तुलनामा गाईगोरु, भैँसीराँगा, कुखुरा, हाँसलगायतको उत्पादकत्वमा कमी आएको छ ।
देशका विभिन्न जिल्लाबाट जिल्ला कार्यालय, क्षेत्रीय तथा केन्द्रीय निर्देशनालय एवम् विभागमार्फत क्षेत्रगत निरीक्षण र प्राविधिक समितिको राय सुझावका आधारमा सो तथ्याङ्क सार्वजनिक गरिएको मन्त्रालयका सहप्रवक्ता टेकप्रसाद लुईंटेलले जानकारी दिनुभयो ।
विश्व खाद्य कार्यक्रम एवम् खाद्य तथा कृषि सङ्गठन (एफएओ) नेपाल र कृषि विकास मन्त्रालयबीच भएको सहमतिअनुसार मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा गत वर्षको तुलनामा राँगाभँैसीको सङ्ख्यामा १.८९ प्रतिशत र गाईगोरुको सङ्ख्याका १.१७ प्रतिशतले कमी आएको देखिन्छ ।
यस्तै गत वर्षको तुलनामा कुखुरापालनमा ४.६७ प्रतिशत, अन्डा उत्पादनमा ४.७५ प्रतिशत र भेडापालनमा २.५१ प्रतिशतले कमी आएको सहप्रवक्ता लुर्इंटेलले बताउनुभयो ।
गत वर्ष मुलुकभर फैलिएको बर्डफ्लु र उत्पादनको तुलनमा बढ्दो मासुको मागका कारण अधिकांश पशुपक्षीको उत्पादनमा कमी आएको मन्त्रालयको दाबी छ ।
यद्यपि, बाख्रा, सँगुर÷बङ्गुर, र हाँसको उत्पादनमा भने गत वर्षको तुलनामा क्रमशः ४.०२, ५.०६, र ३.७९ प्रतिशतले वृद्धि आएको सो तथ्याङ्कमा उल्लेख छ ।

प्रकाशित मिति: मङ्लबार, बैशाख ३०, २०७१