आइतवार, फाल्गुन २०, २०८०

कृषि अनुसन्धान परिषद्को आवश्यकता छ

नेपाल कृषि अनुसन्धान परिषद्को २५ औं बार्षिकोत्सव मनाईरहदा नेपाली कृषि क्षेत्रमा के के अनुसन्धान भए र ती कति कार्यान्वयन भए भन्ने कुरा खोज्नु आवश्यक छ । कृषि अनुसन्धान परिषद्बाट स्वीकृत भएका कतिपय बीउहरुले समेत राम्रो उत्पादन नदिएको चर्चा नचलेका पनि होइनन् तर पनि नेपाली कृषि बैज्ञानिकहरुले परिषद् भित्र बसेर कति सफल काम गरिरहेका छन् भन्ने कुरा पनि अहिले खोजी हुन थालेको छ । नेपाली कृषि बैज्ञानिकहरुले आफूलाई जसरी प्रस्तुत गर्नु पर्ने थियो सो अनुरुप काम गर्न नसकेको हो भन्ने आरोप पनि लाग्न थालेको छ ।

logo
नेपाल कृषि अनुसन्धान परिषद् अनुसन्धानका लागि भन्दा पनि कसरी हुन्छ भत्ता पचाउने तिर नै बढी क्रियाशील भएको हो की भन्ने शंका पनि उत्पन्न नभएका होइनन् । कृषि अनुसन्धान परिषद्बाट कति प्रतिनिधिहरुले कृषि अनुसन्धानका नाममा बैदेशिक भ्रमण गरे कार्यशाला गोष्ठिमा सहभागी भए तर ती कुराहरु नेपालमा कार्यान्वयन गर्न सकियो कि सकिएन् ती बाहिर आउन सकेका छैनन् । नेपाल सरकारको लाचारी पनका कारण कृषि अनुसन्धान परिषद्का लागि छुट्याईएको करोडौं रुपैया बालुवामा पानी हाले बराबर नभएका पनि होइनन् । कृषि अनुसन्धान परिषद्ले गत बर्ष आफ्नो बार्षिकोत्सव मनाईरहदा अनुसन्धान परिषद्ले नाम अनुसारको काम नगरेको आरोप पनि लागेको थियो । ती आरोपहरुलाई अनुसन्धान परिषद्का पदाधिकारीहरुले गलत सावित गर्न खोजिरहेको भएपनि ती गलत सावित हुने अवस्थामा पनि छैनन् । नेपाली कृषि क्षेत्रमा अनुसन्धान परिषद्ले जस्तो भूमिका निर्वाह गर्नु पर्ने थियो त्यो गर्न सकिरहेको छैन ।
पछिल्लो समयमा नेपाली कृषि क्षेत्रलाई व्यवसायिकरण गर्नु पर्ने कुराको आवाज उठिरहेको बेला कृषि अनुसन्धान परिषद्ले नेपाली कृषि क्षेत्रको व्यवसायिकरण गर्नका लागि सरकारी तवरबाट, निजी क्षेत्रबाट वा किसानका पक्षबाट समेत के कस्तो कार्य गर्नु पर्ने थियो भन्ने कुरा बाहिर आउन सक्नु पर्दथ्यो तर त्यो हुन सकेको पाईएन । पदाधिकारीहरुको विदेश भ्रमणलाई मात्र हेर्ने हो भने पनि दर्जनौसंख्यामा पाइन्छ ती भ्रमणबाट नेपाली किसानका पक्षमा भएका उपलब्धिहरु बाहिर आउनु पर्दछ कि पर्दैन प्रश्न चिन्ह खडा भएको छ । संस्थालाई नेपाली किसानमय बनाउनु पर्ने थियो तर धेरै भन्दा धेरै किसानहरुलाई कृषि अनुसन्धान परिषद्को बारेमा जानकारी नै छैन । कृषि विभाग र कृषि सेवा केन्द्रसम्म छ कि ? भन्ने किसानहरुलाई कृषि अनुसन्धान परिषद्ले अपनत्व किन बनाउन सकेन ?
नेपाल कृषि अनुसन्धान परिषद्ले गरेका अनुसन्धान र त्यसबाट प्राप्त उपलब्धिहरुलाई आम किसानहरु समक्ष पु¥याउन २५ बर्षसम्म आईपुग्दा यसको आवश्यकता किसानहरुले अनुभूति गर्न सक्नु पर्दथ्यो । परिषद्को आवश्यकता अनिवार्य छ भन्ने अवस्थाको सृजना परिषद् आफैले गर्नु पर्दथ्यो तर अनुसन्धान परिषद्ले वितेका २५ बर्षमा आफूलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने प्रयास गरेको भएपनि स्वदेशमा व्यवसायिक कृषिमा लाग्न चाहनेसम्म पुग्न नसकेको अवस्था छ ।
कृषि विकास मन्त्रालय मातहतमा रहेको कृषि अनुसन्धान परिषद्ले आफूलाई नेपाल सरकारकै एउटा अंगको रुपमा अगाडि बढाउदै आएको भएपनि त्यसमा आवद्ध पदाधिकारीहरु आफूलाई गैरसरकारी संस्थाका रुपमा पनि अदृश्य रुपमा विदेशीहरु सामु प्रस्तुत गर्ने गरेको स्वयं कृषिविज्ञहरुले नै बताउनुले यसको आवश्यकता कतै समाप्त भईसकेको त होइन भन्ने प्रश्न पनि उठ्न थालेको छ । कृषि अनुसन्धान परिषद्को विगत २४ बर्षका कार्यशैलीलाई हेर्ने हो भने पनि त्यसबाट मुलुकको कृषि क्षेत्रले कति उपलब्धि हासिल ग¥यो भन्ने त छदैछ, यसका भावी दिनमा आई पर्ने चुनौतिहरुका बारेमा पनि चर्चा हुनु आवश्यक छ । नेपाली कृषि वैज्ञानिक बन्नका लागि नेपाल सरकारको सहयोगमा विदेशमा उच्च शिक्षा लिने उतै बेपत्ता हुनेहरुलाई अव राज्यले कुन रुपमा लिन्छ भन्ने कुरा पनि भविष्यले बताउने छ । तर मूल कुरा के हो भने नेपाल कृषि अनुसन्धान परिषद्ले २४ बसन्त पार गर्दा नया नया कृषि उत्पादन एवं व्यवसायिक कृषि उत्पादन भएर नेपाल कृषि प्रधान देशमा नै परिचित गराउन अनुसन्धान परिषद्ले जुन भूमिका खेल्न सक्नुपर्ने थियो सो नभएका कारण नै आज मुलुक किसान प्रधानमा नै सिमित हुन पुगेको छ ।
वर्तमान अवस्थामा देखिएको यो चुनौतिलाई सामना गर्न कृषि अनुसन्धान परिषद् सफल हुन सक्छ कि सक्दैन भन्ने कुरा यतिखेर कृषि क्षेत्रमा कार्यरत कृषि विज्ञहरुले नै नियाल्न थालेका छन् । कृषि अनुसन्धान परिषद्का केही उच्च पदाधिकारीहरुको अदुरदर्शिताका कारणले नै कृषि अनुसन्धान परिषद्को आवश्यकताका विषयमा टिका टिप्पणी हुनुले पनि नेपाल कृषि अनुसन्धान परिषद्ले बर्षहरु मात्र कटाउनु भन्दा पनि आफ्नो साख जोगाउनु निभाउनु पर्ने भूमिकालाई आत्मसात गरेर अगाडि बढाउनु जरुरी छ ।
विदेशमा शुरुवात भएका कृषिका नयाँ प्रविधि तथा यान्त्रिकरणलाई नेपालका कसरी सक्रियताका साथ कार्यान्वयन गराउन सकिन्छ भन्ने कुरामा परिषद् लाग्ने हो भने पक्कै पनि यसले भावी दिनमा नेपाली कृषि क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ला अन्यथा कृषि अनुसन्धान परिषद् आम किसानका लागि ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात’ हुनेमा शंका गरिरहनु पर्दैन । – हिमा स्वस्ती पौड्याल

प्रकाशित मिति: सोमवार, बैशाख २९, २०७१