कञ्चनपुर, २४ वैशाख । नहर निर्माणपछि खुसी देखिएका जिल्लाको दक्षिणी भेगका जनता अहिले नहरकै कारण निरास बनेका छन् । विसं २०५४ मा महाकाली सिँचाइ डिभिजन नम्बर ८ ले कञ्चनपुरको दक्षिणी क्षेत्रमा नहर विस्तार ग¥यो । सिँचाइ सुविधाबाट वञ्चित त्यहाँका जनता नहर विस्तारपछि निकै खुसी भए । आफ्नो माग पूरा भएपछि खुसी नहुने सायदै होलान् तर, दुई वर्षमै नहर विस्तारले उनीहरूलाई दुःखी र निरास बनायो । कारण नहरको पानी चुहावट । नहरको पानी चुहावट भएर किसानको खेती दलदलमा परिणत भयो । सिँचाइ सुविधा प्रयोग गरेर उत्पादन बढाउने कल्पना गरेका किसानको कल्पना कल्पनामै सीमित रह्यो ।
“नहरको पानीले उत्पादन बढाउने सोचेका थियौँ,” रौतेलीविचवाका रामसिंह विष्टले भने, “तर भएको उत्पादन पनि नहुने भयो ।” नहरले उत्पादनमा मात्र नभई मानव जीवनमै क्षति पु¥याएको उनले बताए । “नहरले हाम्रो जमिन त लग्यो, लग्यो, हामीलाई डुबानमा पनि पा¥यो उनले भने ।” उनका अनुसार नहरले दलदल बनाएका अधिकांश ठाउँमा बर्सेनि डुबान हुने गरेको छ । “नहरको पानीले सिँचाइ गरौँला भन्ने सोचेका थियाँै, तर डुबानबाट विस्थापित बनायो,” डुबान हुने क्षेत्र बेल्डाँडी–१ वैवाह गड्डाका स्थानीय तथा सामुदाय विपद् व्यवस्थापन समितिका अध्यक्ष रतनसिंह खड्काले भने । नहर निर्माण गर्दा प्राविधिक व्यवस्थापन नभएको र निकासका लागि नहरमा पर्याप्त ढोका नभएकाले डुबानको समस्या आएको उनको भनाइ छ । “नहर बनाउँदा यहाँको भौगलिक अवस्था बुझिएन,” उनले भने, “जसका कारण ठूलो क्षति भयो ।” उनका अनुसार वर्षात्को समयमा गड्डामा पाँच फिटसम्मको डुबान हुने गर्छ । “वर्षातमा महकाली नदीको बहाव बढेपछि चौधरी नदीको पानी पास हुँदैन्,” उनले भने “त्यो पानी नहरमा मिसिन्छ र पानी बस्तीमा पस्छ ।” डुबानबाट यस क्षेत्रका ८० घर प्रत्यक्ष प्रभावित छन् । डुबान हँुदा घरबाट सुरक्षित ठाउँमा भाग्नुपर्छ,” वैवाह गड्डाकै स्थानीय वीरमा खड्काले भने, “गाईगोरु, बालबच्चालाई सुरक्षित स्थानमा पु¥याउनुपर्छ, सुरक्षित स्थान टाढा छ त्यहा पुग्नै एक घण्टा लाग्छ ।”
उनले नहरको ढोका निर्माण तथा पानी निकासका लागि विभिन्न समयमा सिँचाइ कार्यालयमा आग्रह गरिएपनि कुनै सुनुवाइ नभएको गुनासो गरे । ‘सिँचाइले यी समस्यामात्रै समाधान गरी दिए स्थानीयलाई ९० प्रतिशत राहत हुन्छ,” उनले भने । बेल्डाँडी गाविसले बस्तीस्तरबाट आएका मागको आधारमा गाविसले कार्यक्रम सञ्चालन गर्ने भए पनि पर्याप्त बजेट नभएका कारण कुनै कार्यक्रम सञ्चालन गर्न नसकिएको जनाएको छ । “जनताको मागअनुसार गाविसले काम गर्ने हो,” बेल्डाँडी गाविसका सचिव पुथ्वीराज अवस्थीले भने “तर यहाँ धेरै समस्या छन्, बजेट अभावले काम गर्न सकिएको छैन ।” उनले पुल निर्माणका लागि जिल्ला विकास समितिमा बजेट माग गरिएको र बजेट उपलब्ध भए आगामी वर्षभित्रै पुल निर्माण हुने बताए । नहरमा ढोका निर्माण तथा पानी निकासका लागि भारतले नमानेकाले सिँचाइले काम नगरेको स्थानीयवासीको गुनासो छ । नहरको पानी निकासका लागि सिँचाइ कार्यालयले झिलमिलामा ढोका बनाउने योजना बनाएको सिँचाइ व्यवस्थापन डिभिजन नम्बर ८ का डिभिजन प्रमुख रोशनकुमार प्रधानले बताए । – कृषि साप्ताहिक
Add Comment