शनिबार, जेष्ठ १२, २०८१

खाद्य संस्थानमा गुणस्तर मापन गर्ने प्राविधिकको अभाव

काठमाडौँ, २४ वैशाख । नेपाल खाद्य संस्थानले मुलुकभर वितरण गर्ने खाद्यपदार्थको गुणस्तर मापन गर्ने निकायमा अत्यन्तै न्यून जनशक्ति हुँदा समस्या पैदा भएको छ । संस्थानले वितरण गर्ने चामल, गहुँ, तोरी, दलहन लगायतका खाद्यपदार्थ खानका लागि योग्य छ कि छैन भनेर जाँच पड्ताल गर्नुपर्ने व्यवस्था रहेको छ । तर जाँच पड्ताल गर्ने निकायमा न्यून मात्रामा जनशक्ति हुँदा सो काम प्रभावित हुँदै आएको छ । संस्थानमा खाद्यपदार्थको गुणस्तर मापनका लागि न्यूनतम रुपमा २५ कर्मचारीको आवश्यकता पर्दछ । तर हाल संस्थानसँग तीनजना मात्रै प्राविधिक रहेका छन् । रहेका प्राविधिकमध्ये एक वरिष्ठ प्राविधिकको त आगामी असार मसान्तमा नै सेवा निवृत्त हुँदैछन् । प्राविधिक जनशक्ति नहुँदा संस्थानले वितरण गर्ने चामलको गुणस्तरको सघन रुपमा मापनसमेत हुन सकेको छैन । संस्थानका खरिद तथा बिक्री वितरण केन्द्रका प्रमुख श्रीमणिराज खनालका अनुसार प्राविधिक जनशक्ति नियुक्तिका लागि प्रक्रिया अगाडि बढाइए पनि हालसम्म त्यसले पूर्णता पाउन सकेका छैन । नयाँ पदपूर्ति नहुने हो भने संस्थानका चामललगायत अन्य खाद्यपदार्थको गुणस्तर मापन गर्ने काम पूर्ण रुपमा प्रभावित हुनेछ ।
प्राविधिक नहुँदा संस्थानले यस वर्ष हिउँदमा तराईका विभिन्न जिल्लाबाट खरिद गरेको धानको गुणस्तरसमेत मापन हुन सकेको छैन । संस्थानले बर्दियाको राजापुर, वीरगन्ज, भैरहवा, नेपालगन्ज, लाहान लगायतका विभिन्न स्थानबाट धान खरिद गरेको थियो । तर हालसम्म ती स्थानबाट खरिद गरिएका धानको गुणस्तर मापन गर्न सकिएको छैन । यस्तै संस्थानले विभिन्न मुलुकबाट आयात गर्ने खाद्य उपजको समेत गुणस्तर मापन गर्नुपर्ने हुन्छ । प्राविधिक जनशक्तिको अभावमा त्यो कामसमेत प्रभावित हुँदै आएको छ । जसका कारण संस्थानले खरिद गरेको खाद्य उपज खान योग्य छ वा छैन भन्ने पत्ता लाग्न सकेको छैन ।  “नयाँ प्राविधिक जनशक्तिको भर्नाका लागि विगतमा कुनै पनि पहल हुन नसक्दा हाल संस्थान जनशक्तिविहीन बन्न पुगेको हो, यसलाई तत्काल निराकरण गर्नेतर्फ लागिएको भए पनि प्रक्रिया अगाडि नबढ्दासम्म यसै भन्न सक्ने अवस्था छैन”–बिक्री वितरण केन्द्रका प्रमुख खनालले भने ।
संस्थानका दुर्गम २३ जिल्ला, काठमाडौँ, पोखरा, विराटनगर, गोरखा, तुल्सीपुर, सुर्खेत, विर्तामोड, लहान, विमलनगर, जनकपुर, वीरगन्ज, भैरहवा, नेपालगन्ज, राजापुर, धनगढी, महेन्द्रनगरलगायतका स्थानमा आफ्नै डिपो तथा कार्यालय रहेका छन् । कार्यस्थान धेरै भए पनि तीनजना जनशक्तिको भरमा गुणस्तर मापन गर्नु कति भरपर्दो र प्रभावकारी होला यस बारेमा भने संस्थानले ध्यान दिन सकेको छैन । गुणस्तरहीन चामलका कारण पखालालगायत अन्य रोगहरु लागे त्यसले पार्ने प्रभावबारे को जिम्मेवार हुने हो त्यसबारे संस्थानले अनभिज्ञता प्रकट गरेको छ । जनशक्ति नहुँदा भारतीय दूतावासको सहयोगमा निर्माण भएको खाद्य प्रयोगशालासमेत सञ्चालनमा आउने हो वा होइन त्यसको समेत कुनै टुङ्गो लाग्न सकेको छैन ।
दूतावासले उपलब्ध गराएको रु तीन करोड ६० लाखमा संस्थानकै हातामा नयाँ प्रयोगशाला भवन निर्माण सम्पन्न हुने क्रममा छ । यसै महिनाको अन्त्यसम्म सो भवन संस्थानलाई हस्तान्तरण हुने जनाइएको छ । प्रयोगशाला सञ्चालनका लागि मात्रै पनि ३० भन्दा बढी प्राविधिक जनशक्तिको आवश्यकता पर्दछ । तर सो जनशक्ति तत्काल कहाँबाट ल्याउने भन्ने विषयमा संस्थान हालसम्म प्रस्ट हुन सकेको छैन । सो प्रयोगशाला सञ्चालनमा ल्याउन सके खाद्य उपज खानयोग्य छ कि छैन भन्ने सहजै जाँच पड्ताल गर्न सकिन्छ । जनशक्ति नभए पनि संस्थानले सरकारसँग खाद्य प्राविधिक प्रयोगशाला सञ्चालनका लागि आवश्यक व्यवस्था गरिदिन अनुरोध गरिसकेको छ । खाद्य प्रयोगशाला तथा गुण नियन्त्रण विभाग क्रियाशील रहे पनि संस्थानले नै वितरण गर्ने खाद्य उपजको परीक्षणका लागि सो प्रयोगशाला प्रभावकारी हुने विश्वास लिइएको छ ।  -कृषि साप्ताहिक

प्रकाशित मिति: बुधबार, बैशाख २४, २०७१