धनगढी, २३ वैशाख । चालु आर्थिक वर्षदेखि सञ्चालन गरिएको युवा लक्षित व्यावसायिक तरकारी उत्पादन कार्यक्रमअन्तर्गत कैलाली जिल्लामा ७२ जना बेरोजगार युवालाई समेटिएको छ । कार्यक्रमका लागि थुप्रै निवेदन जिल्ला कृषि विकास कार्यालयमा दर्ता भए पनि जग्गाको अवस्था, बजारको सम्भावनालगायतका विषयलाई आधार मानी बेरोजगार युवालाई छनोट गरिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । छनोट भएकाहरूलाई व्यावसायिक तरकारीखेती गर्न अनुदानस्वरूप रकम उपलब्ध गराउन लागिएको कार्यालयका प्रमुख खगेन्द्रप्रसाद जोशीले बताए । छनोट भएका युवाले तरकारीखेतीका लागि कम्तीमा दस कट्ठा क्षेत्रफलको जग्गामा वसन्ते र बर्खायाममा व्यावसायिक तरकारीखेती गरेर आयआर्जन गर्नुपर्ने सर्त रहेको बताइएको छ । व्यावसायिक खेतीका लागि लाग्ने लागत खर्चमध्ये कृषि विकास कार्यालयले प्रत्येक युवालाई पहिलो र दोस्रो किस्ता गरेर जम्मा रु ५० हजारको अनुदान उपलब्ध गराउने व्यवस्था गरेको छ । खेतीका लागि आवश्यकपर्ने थप खर्च सम्बन्धित युवाले नै व्यहोर्नुपर्ने मापदण्ड रहेको छ । महिला, जनजातिलाई विशेष प्राथमिकता दिइएको यो कार्यक्रमअन्तर्गत गरिने तरकारीखेतीको बिमासमेत गरिएको जनाइएको छ । यसैगरी कार्यक्रमअन्तर्गत जिल्लाको पहाडी क्षेत्रका गाविसका बेरोजगार युवकलाई च्याउखेतीतर्फ उत्प्रेरित गराइ उनीहरूलाई स्वरोजगार बनाउनका लागि प्रत्येक युवालाई आवश्यक प्राविधिक सहयोगका साथै प्रतिव्यक्ति रु १० हजारका दरले अनुदान उपलब्ध गराउन लागिएको छ । कार्यक्रमअन्तर्गत माछापालनका लागि छनोट भएका प्रत्येकलाई रु ५० हजारका दरले अनुदान उपलब्ध गराउन लागिएको छ । कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि नियमित रूपमा अनुगमनको व्यवस्था गरिएको जोशीले बताए ।
तरकारीखेतीका लागि करिब रु ३० लाख, माछापालनका लागि रु १० लाख र च्याउखेतीका लागि रु तीन लाखको बजेट विनियोजन गरिएकामा केही बजेट निकासासमेत भइसकेको बताइएको छ । सरकारले बेरोजगार युवालाई स्वरोजगार बनाउने उद्देश्यले चालु आवदेखि कृषि विकास कार्यालयमार्फत देशका कैलालीलगायतका जिल्लामा यो कार्यक्रम कार्यान्वयनमा ल्याएको हो । कृषि साप्ताहिक