धुर्कोट, २३ वैशाख । गुल्मीको अश्लेवाका किसानहरुमा तरकारी उत्पादनको लहर चलेको छ । गाउँमा केही व्यक्तिले तरकारीखेतीबाट राम्रो आम्दानी गर्न थालेपछि गाविसमै मौसमी र बेमौसमी तरकारीखेती गर्नेको लहर चलेको हो । अहिले गाउँका धेरै किसानले पाखोबारीमा गोबी, बन्दा, साग मुला, खुर्सानी, आलु, गोलभेँडालगायतका तरकारी उत्पादन गरी मासिक रु १० हजारसम्म आम्दानी गर्न सफल भएको अस्लेवा–१ रामबारीका तुल्सीराम पाण्डेले बताए । आफ्नो गाउँघरको पाखोबारीलाई तरकारीखेती गर्ने उद्देश्यले आजभन्दा १० वर्ष अघिदेखि उत्पादन वृद्धिका लागि पटकपटक तालिममा समावेश भएको अगुवा कृषक पाण्डेको भनाइ छ ।
अश्लेवामा विदेश गएर फर्केका, अध्ययन सकेर बसेका युवा समेत तरकारीखेतीतर्फ आकर्षित भएका छन् । यो गाविस समथर र उब्जाउ फाँट तथा सिँचाइको पनि राम्रो सुविधा भएका कारण कृषक निकै उत्साहित भएका छन् । कृषकको अवस्थालाई हेरी जिल्ला कृषि विकास कार्यालय गुल्मीले त्यस भेकका लागि रुद्रवेणीमा तरकारी सङ्कलन केन्द्र स्थापना गरिदिएको छ । अहिले सो गाउँका युवा अर्जुन कनौजेले एक्लै ५० रोपनी बारी भाडामा लिएर तरकारीखेती सुरु गरेका छन् । गाउँमा तरकारीको लहर चलेकाले आफूले बारी भाडामा लिएर तरकारीखेती आँटेको उनले बताए ।- कृषि साप्ताहिक
Add Comment