मङ्लबार, अशोज ९, २०८०

चियाको हरियो पत्ती अभाव

धनकुटा, २३ वैशाख । लामो समयको खडेरीका कारण उत्पादनमा कमी आएपछि धनकुटामा सञ्चालित चिया उद्योगमा हरियो पत्तीको अभाव भएको छ । चैत्र महिनामा हुने चियाको पहिलो टिपाइका लागि माघ र फागुन महिनामा प¥र्याप्त सिँचाइको आवश्यकता हुनुपर्ने भए पनि पानी नपर्नाले सो समस्या भएको हो । गएको कात्तिक महिनादेखि नै प¥र्याप्त वर्षा नभएकाले बढी उत्पादन दिने पहिलो फसलमा हरियो पत्तीको उत्पादन सन्तोषजनक हुन नसकेको हो । लामो समयसम्मको खडेरीका कारण चियाका बोट पहेँलिन थालेका छन् भने खडेरीले खाएका कारण उत्पादित पत्तीको गुणस्तर घटेको छ । कामदार अभावमा उत्पादन कटौती गर्नुपर्ने बाध्यतामा रहेका उद्योगीहरू भने जति गुणस्तरीय हरियो पत्ती पाउन छाडेपछि थप समस्यामा परेको हिलेस्थित गुराँसे टी स्टेटका सल्लाहकार एन्ड्रयु गाडर्नरले बताए । धनकुटाका तीन ठूला गुराँसे, नारायणी र कुवापानी चिया उद्योगको उत्पादन घटेपछि जर्मनी, जापान र अमेरिका जाने अर्थोडक्स चियाको निर्यातसमेत प्रभावित भएको छ । धनकुटाका ३५ मध्ये १९ गाविसको करिब १० हजार ५०० रोपनी क्षेत्रफलमा चियाखेती हुँदै आएको जिल्ला कृषि विकास कार्यालय धनकुटाले जनाएको छ ।

त्यस्तै लामो समयको सुक्खा खडेरीका कारण धनकुटामा सञ्चालित ‘अभियानमुखी मकै उत्पादन कार्यक्रम’ प्रभावित बनेको छ । मकै उम्रिएर लहलह हुने बेलासम्म किसानका बारी बाँझै बसेपछि मकै मिसनद्वारा निर्धारित उत्पादन लक्ष्य पूरा नहुने सङ्केत देखिएको हो । उचाँइ, हावापानी र क्षेत्रअनुसार फागुनदेखि चैत महिनाको अन्त्यसम्म बर्खे मकै लगाउने गरिए पनि वर्षा नभएपछि धनकुटाका किसानले यस बेलासम्म मकै छर्न नपाएको धनकुटा जीतपुरका अगुवा कृषक गुरूप्रसाद लिम्बूले बताए । मकै छर्ने समय सकिन लाग्दासमेत पानी नपरेपछि उत्पादन र गुणस्तर घट्ने चिन्ताले किसान ठूलो चिन्तामा परेका छन् । वैशाखपछि छरिएको मकैको बोट पोथ्रिने तथा घोगा र दानाको सङ्ख्या कम लाग्ने हुनाले उत्पादकत्वमा प्रतिकूल असर गर्ने एक कृषि प्राविधिकले बताए । पहिलो चरणमा बेमौसमी खेती नहुने तथा कृषि प्रविधि र प्राविधिक सेवाको पहँुच बाहिरका धनकुटा जिल्लाका वसन्तटार, मौनाबुधुक, मुढेबास, बोधे, खोकु छिन्ताङलगायतका आठ गाविसको करिब ७५० हेक्टर क्षेत्रफलमा मकै मिसन कार्यक्रम लागू गरिएको जिल्ला कृषि विकास कार्यालय धनकुटाले जनाएको छ । कृषि साप्ताहिक

प्रकाशित मिति: मङ्लबार, बैशाख २३, २०७१