सप्तरी, २३ वैशाख । समयमा वर्षा भएको र रोग, किराको प्रकोप कम भएका कारण सप्तरीमा यस वर्ष तीन वर्षयताकै गहुँबाली उत्पादनमा वृद्धि भएको छ । यस वर्ष कुल खेतीयोग्य जमिनमध्ये २० हजार हेक्टरमा क्षेत्रफलमा २ दशमलब ५७ प्रतिहेक्टरका दरले ५१ हजार ४०० मेट्रिक टन गहुँ उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय सप्तरीले जनाएको छ । समयमा वर्षा भएको, कृषकलाई उन्नत जातको गहुँको बीउ वितरण गरेको र रोग किराको प्रकोप यस वर्ष कम भएका कारण गहुँबाली उत्पादनमा उल्लेखनीय वृद्धि भएको जिल्ला कृषि विकास कार्यालय सप्तरीका बाली विकास अधिकृत विद्यासागर यादवले बताए । गत वर्ष २०६९÷०७० मा कुल १५ हजार हेक्टर क्षेत्रफलमा २७ हजार मेट्रिक टन गहुँबाली उत्पादन भएको थियो भने गएको आर्थिक वर्ष २०६८÷०६९ मा २२ हजार हेक्टर क्षेत्रफलमा ४८ हजार मेट्रिक टन गहुँ उत्पादन भएको थियो । -कृषि साप्ताहिक
Add Comment