मङ्लबार, जेष्ठ १५, २०८१

कृृषि र पशुपालनबाट गाउँमै आत्मनिर्भर

म्याग्दी, २३ वैशाख । म्याग्दीको सिङ्गा–२ बास्कुना ठाउँका युवाहरु वैदेशिक रोजगारीलाई छाडेर गाउँमै राम्रो आम्दानी गर्न सफल भएका छन् ।  रोजगारीको सिलसिलामा विभिन्न देशमा गएका युवाहरु स्वदेश फर्केर गाउँमै कृषि र पशुपालनमा आबद्ध भएर गाउँकै मुहार फेरेका छन् । अहिले बास्कुना गाउँ कृषि र पशुपालनमा नमुना गाउँका रुपमा विकास भइरहेको छ ।

करिब २५ घरधुरी रहेको यहाँका युवाहरु पशुपालन र कृषिलाई प्रमुख पेसाका रुपमा अँगालेर भैँसीपालन, तरकारीखेती, फलफूलखेती, पोल्ट्री फार्म सञ्चालन गरिरहेका छन् । वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देशमा १० वर्ष बिताएका बास्कुनाका युवा कृषक तिलक गुरुङले व्यावसायिक पशुपालन, तरकारी तथा फलफूलखेतीलाई अहिले दरिलो आम्दानीको स्रोत बताएकाछन् । उनले पालेको चारवटा उन्नतजातको भैँसीबाट अहिले करिब ५० लिटर दूध उत्पादन हुन्छ । बेनीबजारमा दैनिक रुपमा दूध ढुवानी गरी निर्यात गर्दै आएका गुरुङले मासिक रु ४० हजार आम्दानी हुने बताए । गुरुङले भैँसीपालनसँगै व्यावसायिक कुखुरापालनसमेत गर्दै आएकाछन् । लेयर्स जातका कुखुरापालनमा उहाँले चार हजार कुकुरामध्ये हालै दुई हजार बेचिसकेको र कुखुराको अण्डा उत्पादनबाट मासिक रु ७० हजार बराबरको कारोबार हुने गरेको जानकारी दिए ।
तरकारीखेतीसँगै फलफूलखेतीलाई समेत व्यावसायिक बनाएका गुरुङले गत वर्ष मात्रै रु तीन लाख बराबरको सुन्तला निर्यात गरेको बताए । उनि जस्तै दर्जनौँ युवाले यतिबेला गाउँमै कृषि, फलफूल र पशुपालनमा लागेर आम्दानी गरिरहेका छन् । चार वर्ष मलेसिया बसेर गाउँ आएका २९ वर्षीय नरबहादुर हुमेनले पनि अहिले गुरुङले जस्तै भैँसीपालन सुरु गर्नुभएको छ । तीनवटा भँैसीबाट दुग्ध उत्पादन सुरु गरेका हुमेनले यही नै आम्दानी गर्ने सोचका साथ अगाडि बढेको बताए ।
बास्कुनामा अहिले मनबहादुर केसीले समेत भैँसीफार्म सञ्चालन गरेकाछन् । रोजगारीका लागि साउदी, कतार लगायतका मुलुकमा लामो समय बिताएर स्वदेश फर्किएका बास्कुनाका भीम गुरुङ पनि विगत तीन वर्षदेखि व्यावसायिक कुखुरापालतमा व्यस्तछन् । अहिले एक हजार १०० कुखुरा रहेको उनको फार्ममा ५०० कुखुरा बिक्रीका लागि तयारी छन् । बास्कुना गाउँमा अहिले झन्डै तीन हजार बोटमा सुन्तला उत्पादन हुने गरेको छ भने कृषकले धान रोप्ने खेतहरुमा धमाधम सुन्तला रोप्न थालेका छन् । सुन्तलाखेतीमा पकेट क्षेत्र मानिने बास्कुनामा गत वर्ष मात्रै रु १८ लाख बराबरको सुन्तला बाहिर निर्यात भएको थियो । बास्कुनामा अहिले विदेश छाडेर स्वदेशमै कृषि र पशुपालनमा लागेका युवाहरु थुप्रै छन् । गाउँमै सडक पुगेपछि बजारीकरणका लागि सहज भएको र माटोको उर्वराशक्तिले समेत साथ दिएपछि कृषक उत्साहित भए पनि व्यवस्थित सिँचाइ सुविधा नहुँदा समस्या हुने गरेको गुनासो कृषक भीमबहादुर थापाले गरे । -कृषि साप्ताहिक

प्रकाशित मिति: मङ्लबार, बैशाख २३, २०७१