आइतवार, बैशाख ९, २०८१

उखु खेतमै– किसान मर्कामा

 विराटनगर, २२ वैशाख । पूर्वाञ्चल क्षेत्रमा रहेको एकमात्र इस्टर्न सुगर मिलको बजार एकाधिकारका कारण २५ प्रतिशत उखु खेतमै रहेर सुक्न थालेको उखु कृषकहरूले बताएका छन् । नगदेबालीका रूपमा रहेको उखुखेतीप्रति कृषकहरूको आकर्षण बढिरहकै अवस्थामा मिलले ढिलासुस्ती एवम् लापरबाही गर्नाले उखु कृषकहरू चिन्ता गर्न थालेका छन् । सुनसरीमा तीन हजार ३६५ हेक्टर र मोरङमा दुई हजार १५० हेक्टर जग्गामा उखुखेती लगाइएको उखु उत्पादक सङ्घ मोरङले जनाएको छ । उखुका लागि सरकारले समयमै मूल्य निर्धारण नगर्ने र मिलले पनि उखु काट्न कृषकहरूलाई यसवर्ष समयमै पूर्जी नदिएकाले उखु कटानमा ढिलाइ भएको सङ्घका कार्यवाहक अध्यक्ष शैलेन्द्रराज पाण्डेले बताए । उखु कृषकहरूले विगतमा प्रतिक्विन्टल रु ४८१ मूल्य पाएकामा अहिलेसम्म सरकारले मूल्य निर्धारण गर्न नसकेका कारण मिलले पेस्कीस्वरूप रु ४०१ प्रतिक्विन्टल भुक्तानी गरिरहेको छ ।

        किसानले माघ मसान्तसम्मको पेश्कीस्वरूप उखुको भुुक्तानी पाइसकेका छन् भने मूल्य कहिले निर्धारण हुने हो र बाँकी रकम कहिले पाउने हो भन्नेमा कृषकहरू दुविधा र चिन्तामा छन् । लागत, मिहिनेत र महँगी बढिरहेका कारण प्रतिक्विन्टल रु ४८१ भन्दा कम हुँदा कृषकहरू लाभान्वित नभई उखुखेती घट्ने अनुमान कृषकहरूको छ । सुनसरीमा एक लाख ८७ हजार ९३५ मेट्रिक टन र मोरङमा एक लाख ४६ हजार ५०० मेट्रिक टन उखु उत्पादन हुने दुवै जिल्लाका कृषि विकास कार्यालयको अनुमान छ । सुनसरीमा प्रतिहेक्टर ५५ दशमलब ८४ मेट्रिक टन र मोरङमा ६८ दशमलब १३ मेट्रिक टन उखु उत्पादन भइरहेको बताइएको छ । सुनसरी र मोरङको महेन्द्र राजमार्गदेखि दक्षिणी क्षेत्रमा सुहाउँदो हावापानी, माटोका कारण यी दुवै जिल्लामा लगभग सानाठूला गरी चार हजार उखु कृषकहरू छन् । कृषकहरूले यस वर्ष एक महिना ढिलो अर्थात् पुस १५ देखि उखु काट्न थालेका हुन् । अठार महिनासम्म खेतमा हुर्काएको उखु मिलले समयमै खरिद नगर्नाले अहिले खेतमा उखु सुक्न लागेको, मजदुर पनि नपाउने र वर्षात सुरु हुन लागेकाले उखु खेतमै नष्ट हुने अवस्था सिर्जना भएको उखु कृषक सुनसरी अमाही वेलहाका इस्राइल अन्सारीले बताए ।

        सुनसरी र मोरङ गरी ३४ लाख क्विन्टल उखु उत्पादन हुँदा रु एक अर्ब ६३ करोड ५४ लाख कृषकहरूको आम्दानी हुने र यसबाट मुलुकको अर्थतन्त्र पनि बलियो हुने भएकाले कृषकको समस्यामा सरकारले ध्यान दिनुपर्ने सुनसरी अमडुवाका उखु कृषक जयहरि शर्माले बताए । एक क्विन्टल उखुमा १३ किलो चिनी उत्पादन हुने बताइएको छ ।उखुको उचित मूल्य नपाउँदा कृषकहरूलाई ठूलो मर्का पर्ने गरेको सुनसरी देवागञ्जका कृषक मनोज भगतले बताए । एक बिघामा ६०० क्विन्टल उखु हुनुपर्नेमा सुकेर ५०० क्विन्टल मात्र भइरहेको र यसबाट कृषकलाई ठूलो क्षति भइरहेको बताइएको छ । दैनिक ३० हजार क्विन्टल उखु पेल्ने क्षमता रहेको इस्टर्न सुगर मिलले अहिलेको दिनको २० देखि २२ हजार क्विन्टल मात्र उखु पेलिरहेका कारणले पनि उखु कृषकहरूमा समस्या देखिएको छ । कृषि साप्ताहिक

प्रकाशित मिति: सोमवार, बैशाख २२, २०७१