शुक्रबार, चैत्र १६, २०८०

अधिकृतस्तरका प्राविधिक खटिएपछि किसान उत्साहित

स्याङ्जा, २१ वैशाख । स्याङ्जाको दार्सिङ दहथुम–८ मा रहेको कृषि सेवा केन्द्रमा जिल्ला कृषि विकास कार्यालयले अधिकृतस्तरको प्राविधिक खटाएपछि स्थानीय किसान निकै खुसी भएका छन् । जिल्लाको दार्सिङ दहथुम, बानेथोक देउराली, ढापुक सिमलभञ्ज्याङ, स्वरेक, एलादी, माझकोट, कालिकाकोट, पेल्काचौर, छाङ्छाङ्दी गाविस र पुतलीबजार नगरपालिका–१३ का किसानलाई प्रत्यक्ष सेवा दिने गरी कार्यालयले पहिलोपटक कृषि प्रसार अधिकृतलाई खटाएको हो ।
स्थानीयस्तरमा गठन गरिएका कृषक समूह र कृषि सहकारी संस्थामार्फत कृषि क्षेत्रको विकासलाई थप प्रभावकारी बनाउने उद्देश्यले अधिकृतस्तरको प्राविधिक कर्मचारीलाई सेवा केन्द्रमा खटाइएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत श्रीधर अधिकारीले बताए । “कृषि उत्पादनका दृष्टिले ती गाविस निकै सम्भावित क्षेत्र हुन्” वरिष्ठ कृषि विकास अधिकृत अधिकारीले भने, “कृषि उपजको उत्पादनमा त्यहीँबाट किसानले फाइदा लिन सकुन् भनेर अधिकृतस्तरको कर्मचारी खटाइएको हो ।” स्थानीय वडा नागरिक मञ्चका संयोजक गोकुल अधिकारीले कृषि उत्पादनका क्रममा केही समस्या परेमा गाउँघरमै प्राविधिक सल्लाह पाइने भएपछि यहाँका किसान निकै उत्साहित बनेका बताए । -कृषि साप्ताहिक

प्रकाशित मिति: आइतवार, बैशाख २१, २०७१