इटहरी, १९ वैशाख । चिनी मिलले एक महिना ढिलो गरेर उखु काट्ने पूर्जी दिएको कारण उखु काट्ने मजदुरको अभाव भएको छ । उखु किसानले उखु काट्नका लागि मजदुर नपाइएपछि चैतमै काटिसक्नुपर्ने उखु वैशाख दोस्रो सातासम्म पनि खेतमै छ । ढिलो गरी काट्दा उखुको तौल घट्ने गर्छ । सुनसरीको अमाहिबेलाहा गाविसमा रहेको इस्र्टन सुगर मिल यस वर्ष एक महिना ढिलो सञ्चालनमा आएको र बीचबीचमा प्राविधिक समस्या भएर बन्द भएकाले उखु काट्ने पूर्जी दिन ढिलाइ भएको हो ।
चिनी मिलले किसानको उखु खेतमै सुक्ने सिजनमा पनि किन्दिन अथवा पूर्जी दिन्न भन्न नपाउने कोसी उखु व्यवसायी सङ्घका सचिव अशोक राईले बताउनुभयो । यसअघि इस्र्टन सुगर मिलले ढिलो गरी उठाउने उखुमा प्रतिकिलो रु तीनदेखि आठसम्म क्षतिपूर्ति दिँदै आएको थियो । कृषकहरूले समयमै भुक्तानी र पेश्कीसमेत नदिएको भन्दै मिलमा पाँचबँुदे ज्ञापनपत्र बुझाएका छन् । उखु कृषकले वैशाखको अन्तसम्म मिल सञ्चालनमा राख्नुपर्ने, प्रतिक्विन्टल रु पाँच अनुदान दिनुपर्ने, उखु ढुवानीका लागि पेश्की दिनुपर्ने लगायत पाँचबुँदे माग गरेको राईले बताउनुभयो । अहिलेसम्म मिल प्रशासनले १९ लाख क्विन्टल उखु क्रसिङ गरी चिनी उत्पादन गर्ने कार्य सकेको छ भने कृषकहरूको खेतमै अझै आठ लाख क्विन्टल उखु रहेको छ । -कृषि साप्ताहिक
Add Comment