शनिबार, अशोज १३, २०८०

चियामा भारतीय व्यापारी सिन्डिकेट लाद्न खोजेको किसान आरोप

इलाम, १९ वैशाख । भारतीय चिया व्यापारीले नेपाली चियामा सिन्डिकेट लागू गर्न थालेको इलामका चिया किसानले आरोप लगाएका छन् । चिया कारखानाले भारतीय व्यापारीको पक्षमा लागेर अग्र्यानिक मापदण्डअनुसारको हरियोपत्तिको उचित मूल्य नदिइरहेको तथा गुणस्तर नभएको भन्दै गत सालको भन्दा पनि कम मूल्य निर्धारण गरेर सिन्डिकेट लागू गर्न खोजेको फिक्कलका चिया किसान सोनाम योल्मोले बताउनुभयो ।
यहाँका ठूला चिया कारखानामध्ये करिब एकदर्जन कारखाना भारतीय उद्योगपतिको स्वामित्वमा रहने भएपछि किसानले चियाको मूल्य उचित नपाउने योल्मोको भनाइ छ । तर कारखानाले पहिलो सिजनकै टिपाइको चियामा गुणस्तर नभएको भन्दै गतवर्षको यस सिजनको मूल्यभन्दा आधा घटाएपछि अहिले चिया कृषक तथा चिया उत्पादन गर्दै आएको सहकारी चिन्तित बनेका छन् । उद्योगपतिले जस्तो पनि चिया लिने अनि गुणस्तरको मापदण्ड कृषकलाई नतोक्दा समस्यामा परेको लक्ष्मीपुर–२ का पदम तामाङले बताउनुभयो । कारखानाले अहिले माईपूर्वका अधिकांश ठूला चिया कारखानामा हरियो पत्तिको मूल्य प्रतिकिलो रु ३० देखि ४० सम्म निर्धारण गरेको छ । गत वर्ष यही सिजनमा प्रतिकिलो रु ७० सम्म चिया बिक्री भएको थियो । -कृषि साप्ताहिक

प्रकाशित मिति: शुक्रबार, बैशाख १९, २०७१