आइतवार, मंसिर २४, २०८०

उन्नत जातका गाईपालन गरेर वार्षिक रूपमा डेढ करोड आम्दानी

तुलसीपुर (दाङ), १९ वैशाख । पछिल्लो समयमा यहाँका किसान व्यावसायिक रूपमा उन्नत जातका गाईपालन गरेर आर्थिक रूपमा सक्षम बन्दै गएका छन् । जिल्ला पशुसेवा कार्यालय दाङका अनुसार जिल्लाका विभिन्न स्थानमा ३५० भन्दा बढी उन्नत जातका जर्सी गाई सामूहिक तथा व्यक्तिगत रूपमा पालिएका छन् । एउटा जर्सी गाईले दैनिक १४ लिटरसम्म दूध दिने भएकाले जिल्लामा जर्सी गाईको माग बढिरहेको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ । कार्यालयका अनुसार जिल्लामा जर्सी गाई पाल्नका लागि वातावरण र हावापानी राम्रो भएकाले पनि यसको लोकप्रियता बढ्दै गएको हो ।
एक वर्षको अवधिमा जिल्लामा ३५० वटा जर्सी गाईको दूध बिक्रीबाट किसानहरू रु एक करोड ५० लाखभन्दा बढी आम्दानी गर्न सफल भएको बताउनुहुन्छ जिल्ला पशुसेवा कार्यालयका प्राविधिक निमबहादुर पुन । अहिले जिल्लाको बिजौरी, चैलाही, मानपुर, उरहरी, शान्तिनगर, लालमटिया गाविस र घोराही तथा तुलसीपुर नगरपालिकामा व्यक्तिगत तथा सामूहिक रूपमा जर्सी गाईपालन व्यवसाय सञ्चालन गरिएका छन् । त्यस्तै जिल्लाको नारायणपुर गाविसमा सहकारीको माध्यम दुई ठाउँमा क्रमशः ३० र ३२ वटा जर्सी गाई सामूहिक रूपमा पालिएका पशुसेवा कार्यालयले जनाएको छ । कार्यालयका अनुसार जर्सी गाई पाल्नका लागि आफ्नो पहँुचभित्र रहेका कृषकलाई निःशुल्क खोप, औषधि, तालिम र घाँसको बीउ प्रदान गर्ने गरिएको छ । त्यस्तै कार्यालयले जिल्लामा जर्सी गाईपालनतर्फ किसानलाई आकर्षित गर्न यस वर्ष घाँस विकास कार्यक्रम र कृत्रिम गर्भाधारण कार्यक्रम ल्याएको पनि जनाएको छ ।
कृत्रिम गर्भधान कार्यक्रमअन्तर्गत स्थानीय गाई भँैसीलाई कृत्रिम गर्भधान गरेर उन्नत जातका गाई भँैसी उत्पादन गरी दूध उत्पादन वृद्धि गर्ने उद्देश्यले जिल्लाका विभिन्न आठ स्थानमा सामूदायिक पशु प्रजनन केन्द्र स्थापना गरिएको छ भने अन्य चार स्थानमा उक्त केन्द्र स्थापनाका लागि तयारी भइरहेको जनाइएको छ । -कृषि साप्ताहिक

प्रकाशित मिति: शुक्रबार, बैशाख १९, २०७१