बिहिबार, बैशाख ६, २०८१

किसानका लागि उखुबाली निल्नु न ओकल्नु

बर्दिवास, १८ वैशाख । महोत्तरी जिल्लाका किसानलाई आफैँले लगाएको उखुबाली यसपालि निल्नु न ओकल्नु भएको छ । उखु उद्योगलाई बुझाएको उखुको अहिलेसम्म मूल्य निर्धारण नभएको र धेरैजसो उखु अझै खेतबारीमा ठाडै रहेपछि जिल्लाका किसानलाई यस्तो अवस्था आइपरेको हो । वर्षभरि गुजारा चलाउनुपर्ने बालीबाट कति रकम पाउने ठेगान छैन भने धेरैजसो उखु खेतबारीमै सुक्न थालेपछि किसान पिरोलिएका छन् । जिल्लाको रामनगरस्थित एभरेष्ट सुगर एन्ड इन्डष्ट्रिजमा यसपालि मूल्य निर्धारण नै नभई बुझाइएको उखुको अझै मूल्य नतोकिँदा आपूmले के कति रकम पाउने कुरा अन्योलमै रहेको किसानको भनाइ छ । यता खुट्टी उखु (दोस्रोपटक लिइने उखुबाली) उद्योगमा बुझाइए पनि मुडन (पहिलोपटक लिइने उखुबाली) भने उद्योगले चलान पुर्जी (उखु कटान गर्न उद्योगले दिने इजाजतपत्र) अझै नदिँदा सालभरि गुजारा चलाउने बाली खेतबारीमै सुकेको जिल्लाकै भङ्गाहा–४ का किसान भरतराज बरालले बताए ।
पुस महिनामै कटानका लागि तयार भइसक्ने मुडन उखु वैशाखको तेस्रो साता लाग्दासम्म कटान नभएपछि खेतबारीमै सुकेर धमाधम ढल्न लागेको भन्दै पशुपतिनगर–१ का उखु किसान महेन्द्र सिंह कुशवाहाले चिन्ता व्यक्त गरे । यसपालि उद्योगले दलालहरूसँग उखु किन्ने कामलाई प्राथमिकता दिँदा किसानको उखु कटान हुन नसकेको अहिले आम टिप्पणी बढेको छ । जिल्लाका भङ्गाहा, पशुपतिनगर, बिजलपुरा, किसाननगर, लक्ष्मीनियाँ, बेलगाछी, भरतपुर, हाथीलेट र औरहीसहितका गाविस बस्तीमा आपूर्ति चलान पुर्जी नपाउँदा बिघौँबिघा क्षेत्रफलको उखु खेतबारीमै सुकेको बिजलपुरा–७ का किसान महेन्द्रप्रसाद सिंहले बताए । यसअघि खुट्टी उखुको पनि उद्योगले पुस÷माघमै चलान नदिँदा खेतबारीमा वैकल्पिक खेती लगाउन नपाएर बाँझो रहेको किसानको गुनासो छ । वैशाख तेस्रो साता सुरु भइसक्दासम्म चलानपुर्जी नपाइएपछि कतिपय किसानले सख्खर बनाउने प्रयोजनका लागि उखु पेल्न थालेका छन् । समय घर्किएकाले सख्खर बनाउने प्रयोजनका लागि उखु पेल्ने तुरपिन मेसिन पनि भाडामा पाउन गाह्रो परेको भङ्गाहा–४ का किसान चन्देश्वर राय दनुवारले बताए ।

जिल्लामा करिब १५ हजार हेक्टरमा मुडन र ११ हजार हेक्टरमा खुट्टीगरी यसपालि २६ हजार हेक्टरमा रहेको उखुबालीमध्ये अहिले आधाजसो मुडन उखुको कटान बाँकी रहेको किसान प्रतिनिधिमूलक संस्था उखु उत्पादक महासङ्घले जनाएको छ । खुट्टीको कटान ढिलो हुँदा सो खेतमा अन्यबाली लगाउन नपाइएको र मुडन अझै कटान हुन नसकेपछि किसानले चित्त बुझाउने ठाउँ नभेटेको महासङ्घका जिल्लास्थित प्रतिनिधि रामचन्द्र कुशवाहाले बताए ।
यता उद्योगले यसपालि उद्योग ४५ दिन ढिलो सञ्चालन भएकाले उखु कटान र क्रसिङमा ढिलाइ भएको स्वीकार गरेको छ । मङ्सिर लाग्दै सञ्चालन हुँदै आएको उद्योग यसपालि पुस १५ गते सञ्चालन हुँदा कटानदेखि उत्पादनसम्मको तालिका प्रभावित भएको इन्डष्ट्रिजका उखु प्रबन्धक नवलकिशोर चौरसियाले बताए । उखुको मूल्य भने आफ्नो कारणले नभई उखु उत्पादक महासङ्घका कारण तोकिन नसकेको उद्योगले जनाएको छ । बाँकी उखु वैशाख महिनाभित्रै कटान भएर तौल भइसक्ने इन्डष्ट्रिजले जनाएको छ । यसपालि उखु उत्पादक महासङ्घ र उद्योग प्रतिनिधिबीच उखु कटानपूर्व (पुसअघि) मूल्यमा सहमति हुन नसक्दा पछि आपसी सहमतिबाट मूल्य निर्धारण गरिने भन्दै दुवै पक्षले उखु कटान गरी उद्योगलाई बुझाउन किसानसँग आग्रह गरेका थिए ।

प्रकाशित मिति: बिहिबार, बैशाख १८, २०७१