बुधबार, बैशाख १२, २०८१

कोसीपारिको गाविसमा चामल अभाव

सोलुखुम्बु, १७ वैशाख । जिल्लाको कोसीपारिका गाविसमा चामल अभाव भएको छ । नेपाल खाद्य संस्थानले उपलब्ध गराउने चामल थोरै भएका कारण कोसीपारिका ६ गाविसमा चामल अभाव भएको हो । नेपाल खाद्य संस्थान सोलुखुम्बुले वार्षिक रुपमा एक हजार ७०० क्विन्टल मात्र चामल कोसीपारिका गाविसमा पठाउने गरेका छन् । “स्थानीयले मागे जति चामल पुग्दैन, त्यसैले कोसीपारिका गाविसमा चामल अभाव भएको छ”–सोताङ डिपोका अध्यक्ष दीपक खड्काले भन्नुभयो । सरकारी अनुदानको चामलभन्दा कोसीपारिको जनसङ्ख्या बढी भएकाले वार्षिक रुपमा प्रतिघरपरिवार एक पाथी मात्र चामल वितरण गर्दै आएको अध्यक्ष खड्काले बताए । हाल वितरण गर्दै आएको चामलले नपुगेपछि थप १० हजार क्विन्टल चामल थप गर्नुपर्ने स्थानीय बासिन्दाको माग रहेको छ । अहिले कोसीपारिका स्थानीयलाई प्रतिकेजी ४९ रुपैयाँमा चामल बिक्री गर्दै आएको छ । जिल्लाको सोताङ, पावै, बुङ, छेस्काम र गुदेल गाविसका सर्वसाधारणले चामल लिन आउने भीड भए पनि स्थानीयलाई चामल उपलब्ध गराउँन नसक्दा कतिपय स्थानीय रित्तै हात फकर्नु परेको खड्काले बताए । यस आर्थिक वर्षमा पहिलोपटक ६२४ क्विन्टल चामल वितरण गरिसकेको सोताङ डिपोले गत आर्थिक वर्षमा एक हजार ५०० क्विन्टल चामल वितरण गरेको थियो ।

प्रकाशित मिति: बुधबार, बैशाख १७, २०७१