शनिबार, बैशाख ८, २०८१

धनौरीका महिला सामूहिक रुपमा तरकारी खेती गरेर आत्मनिर्भर बन्दै

तुलसीपुर (दाङ), १५ वैशाख । जिल्लाको धनौरी–७ कोरबाङका महिलाहरु यतिखेर आधुनिक तरिकाले सामूहिक रुपमा तरकारीखेती गरेर आत्मनिर्भर बन्दै गएका छन् । तीन  वर्ष पहिले सो वडाका १६ महिला मिलेर सयपत्री कृषि पाठशाला महिला समूह  नामक संस्था गठन गरेर सामूहिक रुपमा बेमौसमी तथा मौसमी तरकारीखेती गरेर आम्दानी गर्न सफल भएपछि उनीहरु आर्थिक रुपमा आत्मनिर्भर बन्दै गएका हुन् । ती वर्ष पहिले सिँचाइ डिभिजन कार्यालय दाङले सो गाविसमा करोडौँ रुपैयाँको लगानीमा कोरवाङ सिँचाइ आयोजनाको निर्माण सम्पन्न गरेपछि त्यहाँ सिँचाइ सुविधा पुगेको हो । सिँचाइ सुविधा पुगेपछि सिँचाइ कार्यालयले नै त्यहाँका महिलाहरुलाई आधुनिक कृषि प्रणाली र बेमौसमी तरकारीखेती गर्नेसम्बन्धी तालिम दिएको थियो । तालिमले जागरुक बनाएपछि उक्त समूह गठन गरेर स्थानीयको चार कट्ठा जग्गा भाडामा लिएर तरकारीखेती गरेको सयपत्री कृषि पाठशाला महिला समूहकी  सचिव अस्मिता  भण्डारी बताउनुहुन्छ । उहाँले भन्नुभयो–“यो नमुना खेती भएको हुँदा अहिले आफूहरु नाफा–नोक्सानभन्दा पनि प्रविधि र प्रयोग सिक्न अभ्यस्त  छौँ तर पनि गत वर्ष सबै खर्च कटाएर रु ३० हजार बचत गरेका थियौँ, यो साल पनि हालसम्म रु २० हजार आम्दानी गर्न सफल भएका छाँै”–उनले भने ।
सिँचाइ सुविधा बाह्रै महिना उपलब्ध भएमा बेमौसमी तरकारीखेतीले पनि लाखौँ रुपैयाँ कमाउन सकिन्छ भने नमुनाका लागि आफूहरुले जग्गा भाडामा लिएर भए पनि यो अभियान सुरु गरेको सो समूहकी सदस्य गोमा धितालले बताए । उनले भने–“अब अर्को सालदेखि यसलाई अझै विस्तार गर्र्छौं ।” अहिले त्यहाँ आधुनिक तरिकाले बोडी, करेला, भिन्डी, लौका फर्सी, भन्टा, काँक्रा लगायतका तरकारीखेती गरिएको छ । अहिले ती तरकारीका बोटहरुमा लटरम्म तरकारी फलेका  छन् । त्यहाँ उत्पादन भएको तरकारी केही गाउँमा नै खपत हुने गरेको छ भने धेरै तरकारी गाडीबाट बिक्रीका लागि तुलसीपुर बजारमा लग्ने गरेको समूहकी अर्की सदस्य लक्ष्मी वली बताउछन् ।  सो समूहलाई सिँचाइ कार्यालय दाङले बीउ, मल, कीटनाशक औषधि निःशुल्क रुपमा उपलब्ध गराउनुका साथै एकजना कृषि प्राविधिकलाई पनि समयसमयमा खटाउने गरेको महिलाहरु बताउँछन् । सिँचाइ कार्यालय तुलसीपुरका निमित्त प्रमुख कोफुला श्रेष्ठले आफ्नो कार्यालयमा कृषि प्राविधिक पनि भएको अवस्थामा कृषियोग्य क्षेत्रमा सिँचाइलगायत स्थानीय किसानलाई आधुनिक कृषि प्रणालीबारे जानकारी दिई आर्थिक रुपमा सक्षम बनाउनका लागि त्यहाँ कृषक पाठशाला सुरु गरिएको बताए । “सुरुमा परीक्षणका लागि महिलाहरुको सक्रियतामा कोरबाङमा कृषि पाठशाला सुरु गरेका हाँै तर त्यसको नजिता सकारात्मक देखिएको छ”–श्रेष्ठले भने । अब यसलाई  जिल्लाका अन्य सिँचाइ योजना सम्पन्न भएका ठाउँहरुमा पनि विस्तार गर्ने सोच रहेको उनले बताए । -कृषि साप्ताहिक

प्रकाशित मिति: सोमवार, बैशाख १५, २०७१