बिहिबार, फाल्गुन १७, २०८०

अझै क्रसिङ भएन पर्साका कृषकले लगाएको उखु

वीरगन्ज (पर्सा), ११ वैशाख । चिनी मिलले समयमै उखु नलिएका कारण पर्साका किसानले लगाएको उखु खेतमै सुक्न थालेको छ । गर्मीसँगै उखु सुक्न थाले पनि चिनी मिलले उखु खरिद गर्न चासो नदेखाएको पर्साका किसानको गुनासो छ । बाराको मनहर्वामा रहेको रिलायन्स सुगर एन्ड केमिकल्स इन्डस्ट्रिज प्रालिले उखु खरिद गर्ने सर्तमा पर्साका किसानले उखुखेती गरेका हुन् । तर रिलायन्स चिनी मिलले बाराका किसानलाई प्राथमिकता दिएर पर्साका किसानलाई भेदभाव गरेको स्थानीय किसानको गुनासो छ । गत चैत १६ गते जिल्ला प्रशासन कार्यालय पर्सामा भएको वार्तामा रिलायन्स सुगर मिलको व्यवस्थापन पक्षले पर्साका किसानले उत्पादन गरेको उखु खरिदका लागि चलान पुर्जी वितरण गर्ने सहमति जनाए पनि अहिलेसम्म मिल व्यवस्थापनले त्यो सहमति पालना नगरेको किसानको आरोप छ । प्रमुख जिल्ला अधिकारी कैलाशकुमार बजिमय र स्थानीय विकास अधिकारी गजेन्द्र ठाकुरको विशेष उपस्थितिमा आन्दोलनरत उखु किसान र मिल व्यवस्थापन पक्षबीच भएको वार्तामा मिल व्यवस्थापनले बाराका किसानका लागि ६५ प्रतिशत र पर्साका किसानका लागि ३५ प्रतिशतका दरले चलान पुर्जी वितरण गर्ने सहमति जनाएको थियोे ।
यद्यपि वैशाखको पहिलो साता बितिसक्दा पनि रिलायन्स चिनी मिलले उखु खरिदका लागि चलान पुर्जी वितरण नगरेका कारण पर्साका किसान निराश भएको जिल्ला कृषक हकहित सङ्घर्ष समितिका अध्यक्ष सहरूम राउत गद्दीले बताए । रिलायन्स चिनी मिलले यस वर्ष पर्सामा तीन हजार बिघा क्षेत्रफलमा उखुको खेती गर्न लगाएको अध्यक्ष गद्दीले जानकारी दिनुभयो । तर  रिलायन्स चिनी मिलका महाप्रबन्धक शिवनाथ शर्माले भने उखु खरिदमा बारा र पर्साका किसानबीच कुनै भेदभाव नगरिएको दाबी गरे । पर्सामा रहेका प्रत्येक उखु सङ्कलन केन्द्रबाट दैनिक उखु सङ्कलन भइरहेको बताउँदै महाप्रबन्धक शर्माले किसानको उखुको क्रसिङ नसकिएसम्म मिल बन्द नहुने भएकाले नआत्तिन किसानलाई आग्रह पनि गरे ।

प्रकाशित मिति: बिहिबार, बैशाख ११, २०७१