आइतवार, मंसिर २४, २०८०

ग्रामीण इलाकामा व्यावसायिक च्याउखेती

gobare chyau कालीकोट, ९ वैशाख । पछिल्लो समय कालीकोट जिल्लाका दुर्गम तथा सदरमुकामबाट टाढा रहेका ग्रामीण क्षेत्रमा व्यावसायिक ढङ्गले आयआर्जनका लागि च्याउखेती गर्ने क्रम बढ्न थालेको छ । सरकारी तथा विभिन्न गैरसरकारी निकाय तथा सहकारी संस्थाको पहलमा व्यावसायिक ढङ्गले च्याउखेती सुरु गर्ने क्रम बढेको हो । यसअघि जिल्ला कृषि विकास कार्यालय कालीकोटले सामान्य अभिमुखीकरण गरेर च्याउखेतीका लागि बिज वितरण गरी सुरु भएको अभियान कालीकोटका ग्रामीण क्षेत्रमा फैलिने क्रम बढेको हो ।
गएको वर्ष सहयोगी हातहरूको समूह (सहास) नेपालले दुईदिने च्याउखेतीसम्बन्धी तालिम दिनुका साथै च्याउको बीउसमेत दिएर उत्पादन सुरु गरेका बदालकोट–२ की तारा गिरीलगायतले अहिले च्याउखेती नै व्यावसायिक ढङ्गले अघि बढाएका छन् । सदरमुकामसँग जोडिएकाले बिक्री वितरणमा समस्या नआएको र बजारदर रु २०० देखि ३५० सम्म बिक्री हुने गरेको स्थानीय च्याउ व्यापारी चतुर्भुज शाहीले बताए । जिल्लाका विकट क्षेत्र मानिएका नानिकोट, फुकोट, स्युना, सिप्खाना, मुम्रा, बदालकोटलगायतका क्षेत्रमा च्याउखेतीको सुरुवात भएको जनाइएको छ । कालीकोट सदरमुकामबाट १३ कोष टाढा पर्ने फुकोट गाविस– ६ का स्थानीय कृषकले कसैको पनि सहयोग नलिएर आफँैले च्याउको बीउ खरिद गरेर च्याउ उत्पादन गरेका छन् । च्याउ खाँदा मरिन्छ भन्ने भ्रम परिरहेको अवस्थामा गाउँमा च्याउ उत्पादन गर्न सुरु गरे पछि गाउँले मक्ख भएका छन् । गरे पछि हुँदो रहेछ भन्ने व्यावहारिक रूपमा आफूले पहिलो पटक देखेको फुकोट– ५ का बरुने विकले भने । उनले भने हामीलाई थाहा थिएन आफूहरूले तालिम प्राप्त गरेर च्याउखेती गर्ने बताएका छन् । -कृषि साप्ताहिक

प्रकाशित मिति: मङ्लबार, बैशाख ९, २०७१