बिहिबार, फाल्गुन १०, २०८०

गाउँमै पुगेर पशुस्वास्थ्य परीक्षण

फलेवास (पर्वत), ९ वैशाख । पशुमा रोग लागे पनि उपचार नगराई बस्ने चलन भएकाले पर्वतको पकुवा गाउँमै पुगेर पशुको स्वास्थ्य परीक्षण गर्न शिविर सञ्चालन गरिएको छ । जिल्ला पशुसेवा कार्यालय पर्वतले पकुवामा एकदिने पशु स्वास्थ्य शिविर सञ्चालन गरी गाउँमै पशुको रोग परीक्षण र औषधि वितरण गरेको हो । जलवायु परिर्वतनका कारण पशुमा समेत विभिन्न खाले समस्या बढेकाले गाउँमै पुगेर शिविर सञ्चालन गरिएको जिल्ला पशुसेवा कार्यालय पर्वतले जनाएको छ । जलवायु परिर्वतनको असर पशुमा कम गर्न र यसको प्रभावबाट पीडित कृषकलाई राहत दिन शिविर आयोजना गरिएको कार्यालयका पशु चिकित्सक तारा गैह्रेले बताए ।
परिस्थितिकीय प्रणालीमा आधारित अनुकूलित कार्यक्रम (इबिए) को सहयोगमा पर्वतको पकुवा, खौला र तिलहार गाविसका कृषकलाई लक्षित गरी शिविर सञ्चालन गरिएको हो । कार्यक्रमको सहयोगमा पशुका लागि खोर निर्माण, घाँस लगाउने तथा औषधि वितरण गरिँदै आएको छ । शिविरमा अधिकांश कृषकले पशुको समस्या लिएर आएका थिए । पशु लिएर आउन समस्या हुने भएकाले आफ्ना पशुको समस्या लिएर आएको कृषकको भनाइ छ । पशु शिविरमा तीन गाविसका २०० भन्दा बढी कृषकले पशुको स्वास्थ्य परीक्षण गराएका थिए । यसअघि शिविरको उद्घाटन गर्दै क्षेत्रीय पशुसेवा निर्देशनालयका निर्देशक डा वंशी शर्माले गाउँगाउँमा सञ्चालन हुने शिविरले पशुपालक कृषकलाई प्रत्यक्ष सेवा दिने भन्दै यसलाई हरेक पशुपालनका पकेट क्षेत्रमा पु¥याउन जरुरी भएको बताए । जिल्ला पशुसेवा कार्यालयका प्रमुख वरिष्ठ पशु चिकित्सक अमृत मास्केको सभापतित्वमा भएको कार्यक्रममा केन्द्रको भवन निर्माणका लागि जग्गादान गर्ने पकुवा निवासी समाजसेवीहरू जगतबम मल्ल र रमेशबम मल्ललाई सम्मान गरिएको थियो । -कृषिसाप्ताहिक

प्रकाशित मिति: मङ्लबार, बैशाख ९, २०७१