गाईघाट (उदयपुर), ९ वैशाख । उदयपुर जिल्लाको पूर्वी भेगको तपेश्वरी, भागलपुर, कोसीटप्पु तथा सुन्दपुरलगायतका क्षेत्रमा कृषकले लगाएको केराका बोट विभिन्न रोगका कारण मर्न थालेपछि स्थानीय केरा कृषक चिन्तित बन्न थालेका छन् । लामो समयदेखि केराखेती हुँदै आएको तपेश्वरीको भागलपुर, कोसीटप्पुलगायतका क्षेत्रमा अहिले केराको बोट कुहिने र मर्ने तथा केराको बोट पहेँलो भएर मर्ने रोग लाग्न थालेपछि केरा उत्पादनमा समेत कमी आउन थालेको स्थानीय कृषक बताउँछन् । तपेश्वरी–७ भागलपुरका स्थानीय मनबहादुर भुजेल भन्छन्, “आफूले झन्डै चार कट्ठा जग्गामा केराखेती गर्दै आएको भए पनि अहिले आएर केराको बोट कुहिने र केरा मर्ने रोग लाग्न थालेपछि केरा उत्पादनमा समस्या आउन थालेको छ ।”
प्रतिवर्ष रु एक लाख ५० हजारभन्दा बढीको केरा बिक्री गर्दै आएको बुढाथोकीले हाल केराका बोट मर्न थालेर उत्पादनमा कमी आएपछि वार्षिक रु २५ हजारको पनि केरा उत्पादन हुन छाडेको बताउँछन् । तपेश्वरी तथा कोसीटप्पु क्षेत्रमा केही वर्षयता गभारो किराका कारण केराको फेद नै कुहिने तथा बोट पहेँलो हुने रोग लाग्न थालेपछि केरा उत्पादनमा कमी आएको कृषक बताउँछन् । यता जिल्लाको सुन्दरपुर क्षेत्रमा समेत अहिले केराको बोट पहेँलो हुने तथा फेद कुहिने रोगका कारण केरा मर्न थालेपछि केरा उत्पादनमा कमी आउन थालेको सुन्दरपुर–४ का स्थानीय कृषक तारानन्द चौधरीले बताएका छन्।
केराका बोट मर्न थालेपछि कृषक चिन्तित

Add Comment