सोमवार, अशोज ८, २०८०

कृषिमा युवालाई प्रोत्साहन

काठमाडौँ, ९ वैशाख । कृषि विकास मन्त्रालयले युवालाई कृषिप्रति आकर्षित गर्न विभिन्न कार्यक्रम सार्वजनिक गरेको छ । युवा लक्षित कार्यक्रममार्फत चार हजार १०० युवा कृषकलाई तरकारीखेती, मत्स्यपालन, मौरीपालन, च्याउखेती र पशुपालनसम्बन्धी योजना सञ्चालनमा संलग्न गराउने कार्यक्रम रहेको मन्त्रालयका सहसचिव रामप्रसाद पुलामीले जानकारी दिए । कृषिप्रतिको आर्कषणलाई ध्यानमा राखी थप एक २०० युवालाई संलग्न गराउने गरी तरकारीखेतीतर्फ ८००, मत्स्यपालनतर्फ १५० र पशुपालनको लागि २५० गरी युवा लक्षित कार्यक्रम विस्तार गरिने पनि उहाँले जानकारी दिए । कृषि विभाग र पशुसेवा विभागको जिम्मेवारी तथा मन्त्रालयको सहयोगमा यही असार मसान्तसम्म कुल पाँच हजार ३०० युवालाई लक्षित गरी कार्यक्रम सञ्चालन हुने उनले बताए ।
यसैगरी बाली तथा पशुधन बिमाको शुल्कमा ५० प्रतिशत अनुदान उपलब्ध गराउने व्यवस्था भएकोमा कृषि विभाग, पशुसेवा विभाग, बिमा समिति तथा बिमा प्रदायक संस्थाहरूको सहयोगमा उक्त अनुदान रकममा वृद्धि गरी ७५ प्रतिशत पु¥याएको जनाएको छ । बढीभन्दा बढी कृषक कृषि व्यवसायमा सहभागी होउन् भन्ने उद्देश्यले बाली तथा पशुधन बिमाको अनुदानमा वृद्धि गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले कृषि सेवा प्रवाहमा साना तथा सीमान्तकृत कृषकको पहुँच वृद्धि गर्न नमुनाको रूपमा केही जिल्लामा साना तथा सीमान्तकृत कृषकलाई परिचयपत्र वितरण गरिने भएको छ । पाँच विकास क्षेत्रबाट एक–एक वटा गरी पाँच जिल्लाको छनोट गरी परीक्षणका रूपमा आगामी असार मसान्तभित्र कृषक परिचयपत्र वितरण गर्ने योजना रहेको पनि सहसचिव पुलामीले जानकारी दिए ।

प्रकाशित मिति: मङ्लबार, बैशाख ९, २०७१