शुक्रबार, चैत्र १६, २०८०

डिडिसी मार्फत लागू गरेको ‘गाईमाई‘ गाईपालन कार्यक्रम कैलाली जिल्लामा अलपत्र

DDCधनगढी, ८ वैशाख । सरकारले तीन वर्षअघि दुग्ध विकास संस्थान (डिडिसी) मार्फत लागू गरेको ‘गाईमाई‘ गाईपालन कार्यक्रम कैलाली जिल्लामा अलपत्र परेको छ । ‘गाईमाई‘ कार्यक्रम कार्यान्वयनका लागि बजेट अभाव भएपछि कार्यक्रम अलपत्र परेको अत्तरियास्थित दुग्ध विकास संस्थानका आयोजना प्रमुख हेमचन्द्र पौडेलले बताउनुभयो । “मन्त्रालयले कार्यक्रम चलाउ भन्यो, तर बजेट पठाएन पौडेलले भन्नुभयो, सरकार परिवर्तनसँगै नीति पनि परिवर्तन गर्ने प्रवृत्तिले यस्तो भएको हो ।”
गाईपालनतर्फ महिलालाई उत्प्रेरित गराउँदै उनीहरूको आयआर्जनमा टेवा पु¥याउन कृषि तथा सहकारी मन्त्रालयको पहलमा कैलालीलगायतका जिल्लामा यो कार्यक्रम आव २०६८/०६९मा कार्यान्वयनमा ल्याइएको थियो । गाईको स्याहारसुसार गर्ने महिलालाई ‘माई’को सङ्ज्ञा दिइएको छ । सुरुको वर्षमा महिलाहरू सदस्य भएका कैलालीका दुई र कञ्चनपुरका दुई सहकारी संस्थालाई लक्षित गरी कार्यक्रम कार्यान्वयनको प्रयास गरिएको थियो । यस क्रममा कैलालीको चौमाला गाविसस्थित राजीपुर महिला सहकारी संस्थामा आबद्ध महिलाले गाईमाई कार्यक्रमका लागि भन्दै बैंकबाट रु १० लाख ऋण लिएको भए पनि मन्त्रालयले बजेट नपठाएको र गाई र माईको बिमासमेत नभएपछि कार्यक्रम अलपत्र परेको जनाइएको छ । गाईमाई कार्यक्रमका लागि राजीपुर महिला सहकारी संस्थामा आबद्ध महिलाहरू लिएको ऋणको अहिले वार्षिक १२ प्रतिशत ब्याज बुझाउन बाध्य भएका छन् ।
लिएको ऋणको साढे सात प्रतिशत ब्याज रकम सहकारीमा आबद्ध महिलाले बुझाउन पर्ने र डिडिसीले महिलाको ऋणको साढे चार प्रतिशत ब्याज रकम बुझाइदिने भनेर ऋण लिन लगाएको भए पनि अहिले ऋणको सबै ब्याज रकम १२ प्रतिशत नै आफूहरूले बुझाउनुपरेको राजीपुर महिला सहकारी संस्थाकी सचिव पविसरा सुवेदीले बताउनुभयो । ऋणको ब्याज रकम नबुझाएर आफूहरूलाई अन्योलमा पारिएको सचिव सुवेदीले गुनासो गर्नुभयो । ५६जना महिला सदस्य रहेको यो संस्थाका महिलाले लिएको रु १० लाखको ऋणबाट उन्नत जातका २० वटा गाई खरिद गरेकामा पाँच गाई मरेको जनाइएको छ । आफूहरूलाई राज्यले नै झुक्याएको गुनासो ती महिलाको छ । कैलालीमा असफल भएपछि कञ्चनपुरमा कार्यक्रम लागू गर्ने प्रयास नै नभएको बताइएको छ । तीनवर्षे यो योजना कार्यान्वयनका लागि करिब रु दुई करोड ५०लाख बजेट विनियोजन हुनुपर्नेमा दोस्रो वर्षदेखि बजेट नै आउन बन्द भएको थियो ।

प्रकाशित मिति: सोमवार, बैशाख ८, २०७१