शुक्रबार, चैत्र १६, २०८०

मालागेडी उत्पादनमा गिरावट, किसानको आम्दानी न्यून

 malagediतुलसीपुर (दाङ), ८ वैशाख । विश्वमै लोपोन्मुख प्रजाति मालागेडी (सुगन्धकोकिला) खेती गरेर विगतका वर्षदेखि नै लाखौँ आम्दानी गर्दै आएका जिल्लाको बिजौरी गाविस वडा नं ९ छिल्लीकोटका किसानले यो वर्ष भने विगतका वर्षभन्दा मालागेडीबाट अत्यन्तै न्यून आम्दानी गरेको बताएका छन् । स्थानीय कृषक परविरपुनका अनुसार मालागेडीको फूल फुल्ने समयमा आएको हावाहुरी तथा असिना पानीले भर्खरै फुल्न थालेको मालागेडीका फूल नष्ट गरिदिएपछि उत्पादनमा निकै कमी आएको हुँदा किसानले न्यून आम्दानी गरेका हुन् । सो वडाका ५० बढी किसानले त्यहाँ मालागेडीको व्यावसायिक रुपमा खेती गर्दै आएका छन् । गत वर्ष एक किसानले कममा ६ देखि ८ क्विन्टल मालागेडी उत्पादन गर्दै आएकामा यो वर्ष भने सोही किसानले ३० देखि ४० किलोमात्र मालागेडी उत्पादन गरेका छन् ।
गत वर्ष एक कृषकले १० क्विन्टल मालागेडी उत्पादन गरी बिक्री गरेर झन्डै रु एक लाख आम्दानी गरेकामा यस वर्ष मौसमले साथ नदिँदा ४० किलोमात्र मालागेडी उत्पादन गरेका छन् । वर्षौंदेखि छिल्लीकोटमा मालागेडीको खेती भए पनि जिल्ला भूसंरक्षण कार्यालय दाङ तथा जिल्ला वन कार्यालय दाङले केही वर्षदेखि त्यहाँका किसानलाई मालागेडीको व्यावसायिकखेती गर्ने उद्देश्यले निःशुल्क रुपमा बीउ उपलब्ध गराउँदै आएका थिए । विगतका वर्षहरूमा निकै फस्टाउँदै गएको र आम्दानी पनि राम्रो लिन पुगेका किसान योवर्ष भने उत्पादनमा गिरावट आएपछि खिन्न भएका छन् । व्यवसायीखेती गरेका त्यहाँका कृषकले आफ्नो उत्पादनलाई बिक्री गर्न एवम् ती बोट बिरुवाको संरक्षण गर्नका लागि सुगन्ध कोकिला संरक्षण समिति पनि गठन गरेका छन् । त्यसैगरी मालागेडीको बिरुवा उत्पादन गरेर नर्सरीको पनि व्यवस्था गरेका छन् । अग्लो र चिसो हावापानी रहेको छिल्लीकोट मालागेडीखेतीका लागि राम्रो ठाउँ मानिएको छ ।  विशेष गरेर चैतदेखि वैशाख महिनामा फूूल फुल्न सुरु हुने र मङ्सिरदेखि पुससम्ममा उत्पादन लिन सकिने मालागेडीको खेती चिसो एवम् अग्लो स्थानमा हुने गर्दछ । छिल्लीकोट यो खेतीका लागि अत्यन्तै उपयोगी मानिन्छ । मालागेडी किसानले प्रतिक्विन्टल रु आठदेखि रु नौ हजारसम्म बिक्री गर्दै आएका छन् । त्यहाँ उत्पादन भएको मालागेडी दाङलगायत नेपालका विभिन्न जिल्लामा बीउका लागि पु¥याइने गरिन्छ भने व्यापारीले भने सोझै नेपाल बाहिर पठाउने गरेको स्थानीयवासीले बताएका छन् । त्यस ठाउँमा धानखेती नभए पनि अदुवा, बेसार, जौलगायतका खेती भने हुने गर्दछ ।

प्रकाशित मिति: सोमवार, बैशाख ८, २०७१