शुक्रबार, बैशाख ७, २०८१

भारतीय अण्डा आयात रोक्न माग

eggsचितवन, ६ वैशाख । भारतीय सीमा क्षेत्रमा अवैध रुपमा सेतो अण्डा भित्रिने क्रम बढेपछि रोगको त्रास बढेर गएको छ । भारतमा उत्पादन भएको अण्डा सेतो हुने गर्दछ । भारतमा बर्डफ्लु भएकाले सरकारले नेपाल भित्रिन प्रतिबन्ध लगाएको भए पनि अवैध रुपमा नाका क्षेत्रमा ठूलो सङ्ख्यामा सेतो अण्डा भित्रिएको नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष शिवराम केसीले बताए । नवलपरासी, रुपन्देही, कपिलवस्तुलगायतका सीमा क्षेत्रका जिल्लाको सङ्घले हालै अनुगमन गर्दा सेतो अण्डा नेपाल भित्रने गरेको पाइएको सङ्घका अध्यक्ष केसीले जानकारी दिए । सीमा क्षेत्रका जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र क्वारेन्टाइन तथा भेटेनरीका प्रमुखस“ग अवैध रुपमा अण्डा भित्रनबाट रोक्न आग्रह गरिएको सङ्घका महासचिव त्रिलोचन कँडेलले बताए ।
पछिल्लो समय भारतमा बिक्री नभएर बसेको अण्डालाई अवैध रुपमा नेपाल भित्र्याएर सस्तोमा बिक्री गर्ने गरेको पाइएको छ । स्वास्थ्यका लागि समेत त्यस्ता अण्डा लाभदायक नहुने चिकित्सकको भनाइ छ । नेपालमा दैनिक नौ हजार पेटी अण्डा उत्पादन हँुदै आएको सङ्घका महासचिव कँडेलले बताए । नेपालमा बर्डफ्लु देखिनुअघि दैनिक बाह्र हजार पेटीसम्म अण्डा उत्पादन हँुदै आएको थियो । अहिले प्रतिक्रेट रु २८० मा अण्डा बिक्री हुँदै आएको छ । यो व्यवसायमा एक हजार ५०० भन्दा बढी व्यवसायी आबद्ध भएको भन्दै अवैध अण्डा नरोके रोग भित्रन सक्ने सङ्घको भनाइ छ ।

प्रकाशित मिति: शनिबार, बैशाख ६, २०७१