शुक्रबार, चैत्र १६, २०८०

कृषि विकासका लागि १६ कार्यक्रम सञ्चालन

सुर्खेत, ५ वैशाख । जिल्लामा कृषि क्षेत्रको विकासका लागि १६ वटा कृषकमुखी कार्यक्रम सञ्चालन भएका छन् । जिल्ला कृषि विकास कार्यालय सुर्खेतले जिल्लाका कृषकको क्षमता अभिवृद्धि, आर्थिक उन्नति तथा जिल्लालाई कृषिका माध्यमबाट खाद्यान्नमा आत्मनिर्भर बनाउनका लागि एकैपटक विभिन्न १६ वटा कार्यक्रम सञ्चालन गरेको हो । ती कार्यक्रम सञ्चालनका लागि यस वर्ष जिल्ला कृषि विकास कार्यालयमा करिब चार करोड बजेट आएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत विजय गिरीले जानकारी दिए । कृषि प्रवद्र्धनका लागि भनेर यस वर्ष रु तीन करोड ९६ लाख १२ हजार आएको भए पनि त्यसमध्ये झन्डै रु एक करोड ५० लाख कर्मचारीको तलब र कार्यालयको खर्चमा सकिने अधिकृत गिरीले बताए । यस वर्ष सञ्चालन भएको कृषि प्रसार कार्यक्रमका लागि सबैभन्दा बढी रु एक करोड ९५ लाख बजेट छुट्याइएको छ । त्यस्तै सहकारी खेती र साना सिँचाइ कार्यक्रमका लागि रु ४९ लाख ८५ हजार, माटो परीक्षण तथा सुधार कार्यक्रमका लागि रु १३ लाख २५ हजार, मुसुरो उत्पादन प्रवद्र्धन कार्यक्रमका लागि रु सात लाख ३७ हजार र कृषि तथा खाद्य सुरक्षा आयोजनाका लागि रु २१ लाख १४ हजार बजेट आएको अधिकृत गिरीले जानकारी दिनुभयो । यस्तै अन्य कार्यक्रमका लागि पनि बजेट छुट्ट्याइएको छ ।

प्रकाशित मिति: शुक्रबार, बैशाख ५, २०७१