शुक्रबार, चैत्र १६, २०८०

पशुको क्षति भएपछि बिमाप्रति आकर्षण बढ्दै

बनेपा,  ५ वैशाख । पशुजन्य महामारी रोगका कारण काभ्रेमा पशुको क्षति भएपछि पशु बिमाप्रति कृषकको आकर्षण बढ्न थालेको छ । जिल्ला पशुसेवा कार्यालय काभ्रेका प्रमुख डा सम्झना काफ्लेले पशुको बिमा भएको भए खोरेतको महामारीबाट कृषकले क्षति व्यहोर्नुपर्ने अवस्था आउँदैनथ्यो भन्नुभयो । उहाँले कृषकको आकाङ्क्षा बढी मात्रामा सामुदायिक बिमाप्रति भएको उल्लेख गर्दै खोरेतको महामारीले कृषकमा बिमा गर्नुपर्छ भन्ने सोचको विकास भएको बताउनुभयो ।
कृषि विकास बंैक बनेपाका प्रबन्धक सुन्दर खतिवडाले काभ्रेमा कुल छ हजार ७०० पशुको बिमा भएको उल्लेख गर्दै अहिलेसम्म रु ९३ लाख बिमाका लागि अनुदानमा खर्च भएको बताउनुभयो । उहाँले काभ्रेका लागि यस आर्थिक वर्षमा रु एक करोड ३५ लाखको नयाँ कार्यक्रम आउन लागेको जानकारी दिँदै बिमाको पैसा ठीक ठाउँमा प्रयोग भएको छ वा छैन भनेर छड्के जाँच गरिएको बताउनुभयो । पशु चिकित्सक मणि सापकोटाले महामारीजन्य रोगबाट कृषकले पशुको क्षति व्यहोरेपछि बिमाप्रति कृषकको उत्साह बढेको बताउनुभयो । जिल्ला पशु बिमा समिति काभ्रेका संयोजक दीपकप्रसाद पौडेलले काभ्रेको ३० वटा गाविसमा बिमा कार्यक्रम सञ्चालन भएको जानकारी दिँदै १७ वटा पशु बिमा समिति र समूहले कृषि विकास बैंकमार्फत विगत दुई वर्षदेखि नेपाल सरकारबाट प्राप्त प्रिमियम अनुदान पाउँदै आएको बताउनुभयो । अगुवा कृषक सोमप्रसाद हुमागाईंले पशु धन सुरक्षण कार्यक्रम लागू भएपछि त्यसले बिमित पशुबाट उत्पादनमा समेत सकारात्मक प्रभाव परेको बताउनुभयो ।
काभ्रेमा करिब एक लाख बिमायोग्य पशुमध्ये झन्डै १० हजार पशुको मात्रै बिमा भएको छ । काभ्रेमा पशुपालनबाट वार्षिक रूपमा कुल ५४ हजार ७५० मेट्रिक टन दूध उत्पादन हँुदै आएको छ । काभ्रेमा केही महिनाअघि देखिएको खोरेत रोगबाट कुल रु एक करोड बराबरको क्षति भएको पशु कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, बैशाख ५, २०७१