शनिबार, अशोज १३, २०८०

सिन्धुलीका जुनार भारतको सीतामढी बजारमा लोकप्रिय

जुनारजनकपुरधाम, ३ वैशाख । छिमेकी मुलुक भारतको सीतामढी बजारका फलफूल व्यापारी दीनानाथ गुप्ताले यस वर्ष सिन्धुलीको जुनार बिक्री गरेर पाँच लाख भारतीय रुपैयाँ आम्दानी गर्नुभएको छ । सिन्धुली जिल्लामा उत्पादन हुने जुनार खानमा स्वादिलो, रसिलो र पोसिलो भएकाले सीतामढीमा यस्को राम्रो माग रहेको छ । “यहाँको बजारमा नेपाली जुनारको माग राम्रो रहेको र यसको बजार पटनासम्म विस्तार भएको छ, गुप्ताले भने– यहाँ ५० भन्दा बढी व्यापारी रहेका र उनीहरूले वार्षिक रु एक करोडभन्दा बढीको नेपाली जुनार बिक्री गरी आर्थिकलाभ लिन सफल भएका छन् ।”एक नगरपालिका र ५३ गाविस रहेको सिन्धुली जिल्लामा ४२ गाविसमा व्यावसायिक रुपमा जुनारखेती हुने गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । विसं २०७० मा रु २२ करोड मूल्य बराबरको जुनार उत्पादन भएको सिन्धुली जिल्लामा पाँच हजार ५०० भन्दा बढी किसान प्रत्यक्ष रुपमा लाभान्वित हुँदै आएका छन् । जिल्लाको दुम्जा, बागेश्वर, जलकन्या, तीनकन्या, मझुवा, रतनचुरा, बितिजोरलगायत एक दर्जनभन्दा बढी गाविसमा जुनारखेतीका लागि सरकारले पकेट क्षेत्रमा विकास गरेपछि अन्य किसान पनि जुनारखेतीतर्फ हौसिएका सम्बन्धित कार्यालयको भनाइ छ ।

प्रकाशित मिति: बुधबार, बैशाख ३, २०७१