बिहिबार, बैशाख ६, २०८१

खाद्य प्रयोगशाला भवन निर्माण ढिलाइ

काठमाडौँ, २६ चैत । अत्याधुनिक प्रविधियुक्त खाद्य प्रयोगशाला भवन निर्माणमा ठेकेदारले विलम्ब गर्दा नेपाल खाद्य संस्थानलाई हस्तान्तरण हुन सकेको छैन । भारत सरकारको सहयोगमा जिल्ला विकास समितिले तीन वर्षदेखि बनाउन सुरु गरेको भवन २०६९ सालमा संस्थानलाई हस्तान्तरण गर्ने सम्झौता भए पनि हालसम्म त्यसो भएको छैन ।
“निर्माण कार्य करिब–करिब सम्पन्न भइसकेको छ” नेपाल खाद्य संस्थानका निमित्त नायब महाप्रबन्धक नवराज उपाध्यायले भन्नुभयो, “एक वर्षअघि नै हस्तान्तरण गरिसक्नुपर्ने हो, तर अहिलेसम्म हुन सकेको छैन । ”
“हस्तान्तरण गर्न माग गर्दै संस्थानबाट दुई वटा पत्र पठाई सकियो, यही चैत अन्तिमसम्ममा हस्तान्तरण गर्ने तयारी भइरहेको जिविसबाट जानकारी आएको छ”, उहाँले भन्नुभयो ।
आधुनिक खाद्य प्रयोगशालाको भवन र उपकरण सबै भारत सरकारको सहयोगमा प्राप्त हुने भएकाले सबै निर्माण र उपकरण तयार गरिसकेपछि मात्र संस्थानलाई भवन हस्तान्तरण गर्नुपर्ने हुन्छ ।
“प्रयोगशालाका लागि चाहिने आवश्यक जनशक्ति तथा प्राविधिक संस्थानले नै तयार गर्छ, २०७१ सालदेखि खाद्य प्रयोगशाला प्रयोगमा आउने विश्वास गरिएको छ”–उहाँले जानकारी दिनुभयो । संस्थानको जमिनमा निर्माण भएको सो प्रयोगशाला भवन र उपकरणसहित रु चार करोड ९४ लाखमा निर्माण भएको हो ।

प्रकाशित मिति: बुधबार, चैत्र २६, २०७०