आइतवार, अशोज १४, २०८०

पशुमा पिपिआर र खोरेतको महामारी

भक्तपुर, २१ चैत । भक्तपुरको पशुमा सजिलै एक पशुबाट अर्को पशुमा सर्ने पिपिआर अर्थात् छेराउटी रोग र खोरेत रोगको महामारी फैलिएको छ । विशेषगरी जिल्लाको सुडाल गाविसका पशुहरूमा यस्तो महामारी फैलिएको हो । यहाँका गाई, भैँसी, बाच्छाबाच्छी, बाख्रा लगायतमा पिपिआर रोग र खोरेत रोगको प्रकोप बढेका कारण पशुहरू मर्न थालेको जिल्ला पशु सेवा कार्यालयले जानकारी दिएको छ । सुडाल गाविसका रामेश्वर पण्डितका अनुसार सुरुमा खोरेत रोगको प्रकोप देखिए पनि पछिल्लो समयमा पशुहरूमा छेराउटी रोगको प्रकोप आएपछि धमाधम पशुहरू मर्न थालेका छन् ।
स्थानीयवासी रामकुमार श्रेष्ठले पिपिआर अर्थात छेराउटी रोगले पशुहरूमा सुरुमा ज्वरो आउने तथा लगातार पातलो दिसा गर्ने र केही दिन मै पशुहरू मर्ने गरेको बताए । अहिलेसम्म सुडाल गाविसमा मात्र बाख्रा, खसी, बोका, गाई र बाच्छाबाच्छी गरी १२ वटा भन्दा बढीको मरिसकेको सुडालका अर्जुन केसीले बताए । जिल्ला पशु सेवा कार्यालयका प्रमुख पशु चिकित्सक बलबहादुर चन्दले सुडालमा पशुहरूमा एकैपटक दुईवटा रोगको प्रकोप बढेको छ, रोग नियन्त्रणका लागि पहल भइरहेको छ भन्दै खोरेत रोगलाई नियन्त्रणमा लिन सकिने भएपनि पिपिआर रोग लागिसकेपछि नियन्त्रणमा लिन मुश्किल हुने बताए ।
उनले भने, “पिपिआर अर्थात छेराउटी रोग नियन्त्रणमा लिन गाह्रो छ, यो रोग अन्यत्र नसरोस् भनेर भ्याक्सिन लगाउनका लागि टोली खटाएको छ, यसको रोकथामको एकमात्र उपाय भ्याक्सिन नै हो ।” सरकारले देशभर ३५ लाख पशुलाई पिपिआरको भ्याक्सिन दिने लक्ष्य राखेअनुसार भक्तपुरका २० हजार पशुलाई पिपिआर भ्याक्सिन दिइने उहाँले जानकारी दिए । उनका अनुसार यो भ्याक्सिन लगाएको १५ दिनपछि मात्र असर गर्ने भएकाले भ्याक्सिन लगाएको १५ दिनअघिसम्म पिपिआर भएका पशुबाट रोग नलागेका पशुलाई अलग्गै राख्नुपर्छ ।’ त्यसैगरी कार्यालयले यस वर्ष बङ्गुरमा लाग्ने हैजा अर्थात् स्वाइन फिबर रोग नियन्त्रणका लागि पनि भ्याक्सिन दिने भएको छ । जिल्लाका १० हजार बङ्गुरलाई भ्याक्सिन लगाइने चिकित्सक चन्दले बताए । – कृषि साप्ताहिक

प्रकाशित मिति: शुक्रबार, चैत्र २१, २०७०