शुक्रबार, बैशाख ७, २०८१

हेम्माको आलु महोत्सव सम्पन्न

पोखरा, २० चैत । “सुन्दर गाउँ हेम्जा जाऔँ, आलुका स्वादिष्ट परिकार खाऔँ, आलु एक परिकार अनेक” भन्ने मूल नाराका साथ गत यही चैत १४ देखि कास्कीको हेम्जा गाविसमा सञ्चालित पाँचौँ हेम्जा आलु महोत्सव आज सकिएको छ ।

विष्णुपादुक क्लब हेम्जाको आयोजनामा भएको महोत्सवमा रु चार करोडको आर्थिक कारोबार भएको छ ।
हेम्जालाई कृषि पर्यटनको रुपमा चिनाउँदै यहाँको विविध क्षेत्रको विकास गर्ने उद्देश्यले आयोजित महोत्सवमा आलुका १५ परिकार कक्ष, ५० व्यावसायिक, २५ कृषि प्रविधि प्रदर्शनी र एक एक प्राथमिक उपचार र सूचना केन्द्र राखिएका थिए ।
महोत्सवको मुख्य आकर्षणका रुपमा आलु तथा ताजा तरकारीको बृहत् प्रदर्शनी, आलुको ठूलो पहाड, आलुकै विभिन्न खानाका परिकार, बाल उद्यान र विविध सांस्कृतिक कार्यक्रम गरिएको थियो ।
यस वर्ष हेम्जामा ११ हजार टन आलु उत्पादन भएको थियो । सो गाविसमा व्यावसायिक रुपमा आलु खेती गरेको एक हजारभन्दा बढी कृषकले यस वर्ष मात्रै रु १३ करोडभन्दा बढीको आलु बिक्री गरेको बताइएको छ । हेम्जामा उत्पादन भएको तरकारीले पोखरा नगरक्षेत्रको २० प्रतिशत माग पूरा गरेको छ ।

प्रकाशित मिति: बिहिबार, चैत्र २०, २०७०