शनिबार, बैशाख ८, २०८१

सिंचाईका लागि पक्की नहर निर्माण

विराटनगर, १६ चैत । सप्तकोसी नदीको बाढीबाट क्षतिग्रस्त कृषियोग्य जमिनमा उत्पादकत्व बढाउन तथा जमिन सिञ्चित गर्न सुनसरीको बाढीग्रस्त क्षेत्रमा रु छ करोडको लागतमा पक्की नहर निर्माण भएको छ ।

एसियाली विकास बैंकको ८० प्रतिशत तथा नेपाल सरकारको २० प्रतिशतको लगानीमा सुनसरीको श्रीपुरबाट हरिपुरसम्मको चार किलोमिटर पक्की नहर निर्माण भएको हो ।
पूर्वाञ्चल सिँचाइ विकास डिभिजन नं २ सुनसरीद्वारा निर्मित सो नहरको निर्माण कार्य तीन किलोमिटर पूरा भइसकेको र अन्य थप निर्माण कार्य एक महिनामा पूरा हुने बताइएको छ ।
सो कार्यालयका प्रमुख राकेश कलवारका अनुसार पाँच वर्ष अगाडि सप्तकोसी नदीको बाढीबाट क्षतिग्रस्त जमिनमा पानीको अभावले बाँझो जमिनमा हाल निर्माण भइरहेको पक्की नहरबाट सिँचाइ गरिनेछ ।
एक फिट २० सेन्टिमिटर गहिरो तथा डेढ मिटर चौडा भएको सो नहरबाट श्रीपुर तथा हरिपुरका ६०० हेक्टर कृषियोग्य जमिनमा सिँचाइ पुग्नेछ ।

प्रकाशित मिति: आइतवार, चैत्र १६, २०७०