सोमवार, बैशाख ३, २०८१

किसानका लागि परिचयपत्रको व्यवस्था गर्न लागेका छौं

  
sarad chandra shresthaशरदचन्द्र श्रेष्ठ,प्रमुख, कृषि विकास कार्यालय काठमाडौं

काठमाडौं जिल्लालाई प्राङ्गारिक कृषि उत्पादन जिल्ला बनाउने अभियानमा लाग्नु भएको छ नि होइन ?

शुरुमा प्राङ्गारिक भन्नु भन्दा पनि हामीले विषादी रहित खाद्यान्न उत्पादन भन्न लागेको छौं । विशेषगरी तरकारीबारीमा बिषादी बढी प्रयोग हुन थालेको भन्ने जनगुनासो आएपछि हामीले विषादी प्रयोग न्यूनिकरण गर्नका लागि त्यस्तो शुरुवात गरेको हौ । यो अभियान शुरुवात गरेपछि नै करीव तीन दर्जनको हाराहारीमा प्राङ्गारिक फार्महरु निर्माण भईसकेका छन् । प्राङ्गारिक अभियानालाई बेग्लै किसिमले लैजानु पर्दछ यसका लागि बेग्लै कृषि नीति बनाउनु पर्दछ भन्ने सोच लगाडि सारेका पनि छौं । दीगो कृषि विकासका लागि प्राङ्गारिक कृषि उत्पादन नै मुलुकका लागि महत्वपूर्ण हो भन्ने हामीले सोचेर त्यही अनुरुप कार्यक्रमहरु तयार गरी अगाडि बढाएका छौं । साथै विभिन्न आयोजनाहरुमा प्राङ्गारिक आयोजनालाई महत्व दिएका छौं
प्राङ्गारिक तथा बिषादीरहित कृषि उत्पादनका लागि काठमाडौंमा वर्तमान कृषि उत्पादिन क्षेत्रफलमा कति सम्भव छ ?
सम्भव प्रशस्त छ तर त्यसमा प्रविधिको ज्ञान लगायतका जनचेतना किसानमा पु¥याउनु अनिवार्य छ । साथै हामीले प्राङ्गारिक कृषि उत्पादनका लागि तीनबर्षको कार्ययोजना बनाएका छौं । त्यो समय माटो सुधार एवं माटो स्वस्थ बनाउनेका लागि हो । त्यो समयमा विगतमा असन्तुलित रुपमा प्रयोग गरिएका रसायनिक मलका कारण माटो विग्रिएको छ त्यसलाई सुधार गर्दै गएपछि तीनबर्षमा काठमाडौंको जग्गामा प्राङ्गारिकखेती राम्रोसंग गर्न सक्छौं । यसका लागि हामीले एउटा नारा तयार गरेका छौं तीनवटा गाई दश रोपनी जग्गा, त्यसपछि हुन्छ प्राङ्गारिक खेती पक्का । यसले के स्पष्ट पारेको छ भने प्राङ्गारिक खेतीका लागि पशुपालनसंगै लिएर जानु पर्दछ भन्ने मान्यता हामीले लिएका छौं । साथै किसानहरुलाई पशुपालन गर्न अनुदानको व्यवस्था गर्न माग पनि गरेका छौं ।
काठमाडौं जिल्लाको कृषि योग्य भूमि दिनप्रतिदिन मासिंदै छ केही समय पछाडि भूमि नै देख्न गाह्रो हुने अवस्थामा कृषि उत्पादनलाई प्राङ्गारिक बनाउने अभियान सफल हुन्छ त ?
ठिक हो, अहिले कै अवस्थामा जाने हो भने ३० ४० बर्षमा काठमाडौंमा खेती योग्य भूमि नै समाप्त हुनेछ मेरो तर्क के हो भने खेती योग्य जग्गामा घर बनाउने नपाइने भन्ने नीति ल्याउनु आवश्यक छ । त्यसका लागि व्यक्तिका अधिकारको कुरा पनि आउन सक्छ आफ्नो जग्गा विक्री वितरण गर्न पाउने घर बनाउने पाउने अधिकार छ तर मापदण्ड बनाईदिएर कम्तिमा घर बनाउनका लागि एक रोपनी जग्गा अनिवार्य गरिदियो भने त्यसले पनि केही सहयोग पु¥याउँछ । अर्कोकुरा काठमाडौंका जग्गा धनीहरुलाई कृषि उत्पादनमा लाग्न उत्प्रेरित गर्न सरकारले अनुदानको व्यवस्था गर्नु पर्दछ । भू उपयोग नीति ल्याउने र खेती योग्य जमीनमा भवन निर्माण गर्न नपाउने भन्ने कुरा धेरै पछिको हो त्यो हाम्रा लागि अत्यन्तै ढिला हुने छ ।
यहाँले भने जस्तो तीनबर्ष भित्र काठमाडौं जिल्लालाई प्राङ्गारिक बनाउन जग्गा धनी भन्दा पनि भाडामा लिएर कृषि खेती गर्ने बढी छन् यसले दीगोपन त आउ“दैन नि ?
काठमाडौं जिल्लामा तीनवटा कुरा राम्रा छन् हावापानी,माटो र बजार । यही कारणले पनि विभिन्न जिल्लाबाट आएका व्यक्तिहरुले व्यवसायिक कृषि खेतीका लागि जग्गा भाडामा लिएर काम गरिरहेका छन् । यसलाई दीगो बनाउनका लागि जग्गाको करार नीति ल्याउन सक्यो भने पक्कै पनि सफल हुन्छ र दीगो पनि हुन्छ । नभए खासै केही भन्न सकिने अवस्था छैन । अर्को कुरा बाहिरका किसानहरु आएर यहा“ कृषि उत्पादन गरिरहनु भएको छ । त्यो देखेर पनि काठमाडौंका किसान जग्गा धनीहरु यस तर्फ उत्साहित हुनुहुन्छ । यो बढ्दै गयो भने पक्कै विकास हुन्छ । त्यसका लागि कृषिखेतीका लागि जग्गा करार नीति आउनु पर्दछ ।
काठमाडौं जिल्लालाई कृषि योग्य भूमिका रुपमा लिने गरिन्छ कति प्रतिशत भूमिमा कृषि उत्पादन भईरहेको छन् त ?
काठमाडौं जिल्लाको २२ हजार हेक्टर जमीन कृषि उत्पादनका लागि प्रयोग भईरहेका छन् । घरघडेरीका कारण दिनप्रतिदिन खेती योग्य जमिन मासि“दै छन् । तथ्याङ्कलाई हेर्ने हो ३६ प्रतिशत जग्गा कृषि उत्पादनमा उपयोग भएका छन् भने हरेक बर्ष ०.४ दशमलवका दरले भूमि घडेरीमा परिणत भईरहेको छ ।
कृषि उत्पादनमा उपयोग भएका ३६ प्रतिशत जग्गामा कस्ता कृषि बाली उत्पादन भईरहेका छन् त?
अहिले हर्ने हो भने त नगदेबालीतिर किसानहरु आकर्षित भएको देखिन्छ । विशेष गरी प्लाष्टिक घरहरु निर्माण गरी तरकारी खेती गर्ने, थोपा सिंचाई प्रविधि जुन इजरायल प्रविधि हो यो प्रविधि बढ्दै गईरहेको छ । यसका इजरायलबाट फर्केर आएका युवाहरु बढी संलग्न देखिन्छन् । यो हिसावले पनि तरकारी खेतीतिर बढी देखिन्छ । नगदेबालीका रुपमा आलु उत्पादनका लागि काठमाडौंको माटो अत्यन्तै राम्रँे छ । यो लगायत च्याउ खेती, फलफूलखेती पनि काठमाडौंका शुरुवात भएको देखिन्छ ।
बढ्दै गईरहेको तरकारी खेतीका कारण भविष्यमा खाद्य बालीमा समस्या आउ“ने त देखिंदैन नि ?
नीतिगत र निर्णायत तहलाई मध्यनजर गरेर कुरा गर्ने हो भने मध्य तथा पहाडी जिल्लालाई फलफूल तथा पशुपालन तरकारी खेतीलाई नै प्राथमिकता दिनु पर्दछ भन्ने लाग्छ । खाद्यबालीका लागि उर्वर भूमि तराई क्षेत्र नै हो । सिंचाई सुविधा नपुगेका कारण समस्या छ बरु खाद्य बालीका लागि तराई क्षेत्रमा प्रशस्त मात्रामा सिंचाई सुविधा पु¥याउने हो भने अन्न बाली आयात गर्नु नै पर्दैन । त्यो हिसावले पनि तराईलाई अन्नबालीका लागि र पहाडी क्षेत्रमा तरकारी पशुपालनलाई नै प्राथमिकता दिनु पर्दछ । बासमती चामल काठमाडौंमा नै उत्पादन हुने रहेछ । तर के भने उच्च मूल्यको केही खाद्य उत्पादन बाहेक अरु बालीलाई काठमाडौं जिल्ला त्यति लाभदायक छैन ।
त्यसको मतलव काठमाडौंमा धान, मकै कोदो जुन परम्परागत रुमपा गरिंदै आएको त त्यो प्रभावकारी छैन । परिवर्तन गर्नु आवश्यक छ ?
हो । हामीले अहिले प्राङ्गारिक कुरा गरिरहेका छौं । काठमाडौं जिल्ला लगायत उपत्यका भित्र प्राङ्गारिक तरकारी खेतीलाई प्राथमिकता दिएर अगाडि बढ्न सक्ने हो भने प्रशस्त मात्रामा आम्दानी किसानहरुले गर्न सक्छन् । जुन उत्पादनका बजारमा काठमाडौं भित्रै छ भने बाहिर पनि प्रमाणिकरण गरेर पठाउन सक्ने अवस्था छ ।
प्राङ्गारिक कृषि उत्पादनका लागि लागत मूल्य बढी हुन्छ । फाइदा आउ“दैन भन्छन् नि ?
होइन त्यो भ्रम हो त्यो भ्रमलाई चिर्न सक्नु पर्दछ । हामीले हाम्रो घरका मल खाल्डामा त्यत्तिकै उब्जिएका सागहरु हेर्ने हो भने पनि अनुमान लगाउन सक्छौ । त्यो हाइव्रिड बीउ पनि होइन बिषादी पनि प्रयोग गरिएको छैन । प्रकृतिले नै सिकाईरहेको छ । प्राङ्गारिक उत्पादनका लागि मलको कमी हो । त्यसका लागि पशुपालन नै हो दश रोपनी जग्गाका लागि ३ वटा गाई पाल्यो भने प्रशस्त मात्रामा मल पुग्छ । त्यही भएर हामीले नारा नै बनाएका छौं । मल सुधारका लागि पनि हामीले काम गरिरहको छौं गोठ सुधार कार्यक्रम र मुत्र संकलन गरेर हामी प्राङ्गारिक उत्पादन गर्न सक्छौं । अर्को कुरा नेपालमा पहिलो पटक किसानहरुलाई उत्साहित गर्न किसानका लागि परिचयपत्रको व्यवस्था पनि गर्न लागेका छौं जुन अन्तिम चरणमा पुगिसेको छ । कृषिलाई कृषि उद्यमका रुपमा र कृषकलाई कृषि व्यवसायीका रुपमा परिचित गराउनका लागि हामीले यो काम शुरु गरेका हौं । प्राङ्गारिक कृषि उत्पादन गर्ने किसानका लागि हरियो परिचय पत्र छ भने अरु किसानका लागि पनि रङ्ग परिवर्तन गरेर परिचय पत्रदिने छौं ।
काठमाडौंमा प्राङ्गारिक कृषि उत्पादन गर्न कत्तिको गाह्रो छ त ?
सवैभन्दा गाह्रो काठमाडौंमा पशुपालन गर्ने किसानहरु नै कम छन् । यसको कारण चरनको अभावले नै हो । अर्को भनेको प्राङ्गारिक कृषि उत्पादनका लागि माटो स्वस्थ बनाउन समय लाग्छ त्यसका लागि किसानहरुलाई उत्प्रेरित गर्न सरकारले केही अनुदान दियो भने पक्कै सहज हुन्थ्यो ।     प्रस्तुति – वैकुण्ठ भण्डारी

प्रकाशित मिति: आइतवार, चैत्र १६, २०७०