शुक्रबार, चैत्र १६, २०८०

किसानलाई बाली बिमा गर्न कृषिको आग्रह

जुम्ला, १२ चैत । जिल्ला कृषि विकास कार्यालय जुम्लाले दैवी प्रकोप तथा विपद्बाट हुने विभिन्न खाले क्षतिबाट राहत लिन कृषकलाई बाली बिमा गर्न आग्रह गरेको छ । गत असोज महिनामा दैवी प्रकोपका कारण जुम्लाको ५५२ हेक्टरमा लगाइएको बाली पूर्ण तथा आंशिकरूपमा क्षति हुँदा कृषकहरू ठूलो मर्कामा परेका थिए । यसबारे जिल्ला दैवी प्रकोप तथा विपद् व्यवस्थापन समितिले तत्काल केही गर्न नसके पनि असिनापीडित जुम्लाका हाँकु, तातोपानी, कुडारी, लाम्रा र तलिउम गाविसमा क्षतिको मूल्याङ्न गरी चैत महिनामा कृषि कार्यालय जुम्लाद्वारा उन्नत जातको धानको बीउ वितरण गरिएको बाली संरक्षण अधिकृत चन्द्रबहादुर बुढाले जानकारी दिए । नेपाल सरकारले आव ०७०÷०७१ का लागि बिमाको लागि भनेर रु १३ करोड ५० लाख बजेट विनियोजन गरिसकेकाले यसका लागि बाली तथा पशु बिमा गरेर लाभ लिन कार्यालयले कृषकलाई अपिल गरेको छ । बिमाका लागि नेपाल सरकारले १७ वटा निर्जीवन बिमा कम्पनीलाई इजाजत दिइसकेको कार्यालयका नायब प्राविधिक सहायक खेमराज शाहीले जानकारी दिए । -कृषि साप्ताहिक

प्रकाशित मिति: बुधबार, चैत्र १२, २०७०