शुक्रबार, चैत्र १६, २०८०

माडीमा खुल्यो माछाको पहिलो ह्याचरी

चितवन, ११ चैत । चितवनको माडी उपत्यकामा माछाको पहिलो ह्याचरी फार्म खुलेको छ । जिल्ला कृषि विकास कार्यालय चितवनको सहयोगमा स्थानीय माछा व्यवसायी मनिराम चौधरीले ह्याचरी फार्म निर्माण गर्नुभएको हो ।

माडी क्षेत्र चितवन जिल्लामै माछाको पकेट क्षेत्र मानिन्छ । भरतपुर सदरमुकामबाट ४० किलोमिटर दक्षिणमा पर्ने यो क्षेत्रमा अन्य क्षेत्रबाट माछाका भुरा ल्याउँदा विभिन्न समस्या आउने गरेकाले माडीलाई नै केन्द्रित गरेर ह्याचरी निर्माण गरिएको चौधरीले बताउनुभयो ।
अहिलेसम्म सो क्षेत्रका स्थानीय ७० किलोमिटर टाढा पर्ने चितवनको भण्डाराबाट माछाका भुरा ल्याएर पाल्दै आएका थिए । माछा ह्याचिङको तयारी भएको उहाँले बताउनुभयो । माडी उपत्यकामा चार गाविस छन् । सो क्षेत्रमा डेढ सय हेक्टरभन्दा बढीमा माछापालन गरिँदै आएको स्थानीय दिनेश अधिकारीले बताउनुभयो ।

प्रकाशित मिति: मङ्लबार, चैत्र ११, २०७०