बिहिबार, बैशाख १३, २०८१

प्राकृतिक तालमा माछापालन

कञ्चनपुर, ६ चैत । कञ्चनपुरका बीसभन्दा बढी प्राकृतिक तालमा व्यावसायिक रुपमा माछापालन हुने गरेको छ । ताल व्यवस्थापन गरी स्थानीय बासिन्दा समूहमा आबद्ध भई माछापालनको कार्य गर्दै आएका छन् । श्रीपुर, लक्ष्मीपुर, कालिका, शङ्करपुर, दैजी र कृष्णपुरमा रहेका शोभा, सिद्धनाथ, वन्तरीया, कमलफूले, अजगर, लरङ्गा, नैनी, पुरैना, पतालचुही, ढकैना, लालपङ्खी, जे, बगर, छडना, लामा र सिंहपाल लगायतका प्राकृतिक तालमा व्यावसायिक रुपमा माछापालनको कार्य हुँदै आएको हो । न्यून आय भएका यहाँका बासिन्दा हेल्भेटास नेपाल र निड्सको सहयोगमा विगत छ वर्षदेखि माछापालन गरी आत्मनिर्भरतातर्फ उन्मुख हुन थालेका छन् ।
पहिलो वर्ष हेल्भिटास र निड्सले माछापालनसम्बन्धी तालिम, ताल व्यवस्थापन र माछाका भुरा सहयोग उपलब्ध गराएपछि यहाँका बासिन्दाले माछापालनलाई व्यावसायिक रुपमा अपनाउँदै आएका हुन् । व्यावसायिक रुपमा प्राकृतिक तालमा माछापालन गर्दे आउनुभएका शङ्करपुरका श्रीकृष्ण रानाले यस व्यवसायबाट समूहका सबै सदस्यको विगतको तुलनामा आर्थिक अवस्थामा निकै सुधार आएको बताउनुभयो । माछापालनका लागि लगानी नहँुदा तालको पानी त्यसै खेर गइरहेको थियो, उहाँले भन्नुभयो, “हाल तालमा माछापालन सुरु गरिएपछि तालको संरक्षण हुनुका साथै आम्दानी पनि बढको छ ।” माछापालनबाट आएको रकम समूहमा राखेर खुद्रापसल सञ्चालन, कुखुरापालन, बङ्गुरपालनका लागि लगानी हँुदै आएको उहाँले बताउनुभयो । तालमा पालिएका माछा बिक्री गरेर यहाँका बासिन्दाले वार्षिक रुपमा रु एक लाख ५० हजारदेखि रु एक लाख ७५ हजारसम्म आम्दानी गर्दै आएका छन् ।
जिल्लाको दक्षिणी क्षेत्रमा रहेका यी तालबाट उत्पादन भएका माछा कैलालीको धनगढी, कञ्चनपुरको महेन्द्रनगर, झलारी र स्थानीय बजारमै खपत हुने गरेका छन् । बीस वटै तालबाट वार्षिक रुपमा रु चालिस लाखभन्दा बढीका माछा उत्पादन हुने गरेका छन् । जिल्ला कृषि विकास कार्यालय कञ्चनपुरका कृषि प्रसार अधिकृत रामचन्द्र भट्टका अनुसार प्राकृतिक तालको ११८ हेक्टर क्षेत्रफलमा यहाँ माछापालन हुने गरेको छ । कृत्रिम पोखरीको ८२ हेक्टरमा मात्रै माछापालन हुने गरेको छ । यहाँ वार्षिक रुपमा ४६७ मेट्रिक टन माछा उत्पादन हुने गरेको छ । स्थानीयस्तरमा उत्पादन हुने माछाले बजारको मागलाई धान्न नसक्दा वार्षिक रुपमा भारतबाट १४ मेट्रिक टन माछा भित्रिने गरेको छ । -कृषि साप्ताहिक

प्रकाशित मिति: बिहिबार, चैत्र ६, २०७०