आइतवार, बैशाख ९, २०८१

आठ करोडभन्दा बढीको आलु नष्ट

जनकपुरधाम, ५ चैत । शीतलहर तथा डढुवा रोगका कारण धनुषा जिल्लामा यस वर्ष रु आठ करोड ७४ लाख ४० हजार मूल्य बराबरको चार हजार ३७२ मेट्रिक टन आलु नष्ट भएको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार आर्थिक वर्ष २०७०÷७१ मा धनुषाका किसानले दुई हजार १५१ हेक्टर क्षेत्रफलमा आलुखेती गरेकामा शीतलहर र डढुवा रोगका कारण १५ देखि २५ प्रतिशत आलु उत्पादनमा ह्रास आएको छ । धनुषा जिल्लामा यस वर्ष २९ हजार १५२ मेट्रिक टन आलु उत्पादन हुने थियो तर शीतलहर र डढुवा रोग लागेका कारण २४ हजार ७७९ मेट्रिक टन मात्र आलु उत्पादन हुन सकेको हो । योजना अधिकृत सुरेद्र गोइत भन्नुहुन्छ, “यस वर्ष जिल्लामा चार हजार ३७२ मेट्रिक टन कम आलु उत्पादन भएको हो । उत्पादनमा कमी आउँदा किसानले रु आठ करोड ७४ लाख ४० हजार घाटा व्यहोर्नु परेको छ । जिल्लामा करिब ४०० किसान व्यावसायिक रुपमा आलुखेती गर्ने गर्दछन् भने बाँकी किसान आफैँ खानका लागि उत्पादन गर्ने गर्दछन् । ७६ हजार ५०० हेक्टर क्षेत्रफलमध्ये दुई हजार ३५१ हेक्टर क्षेत्रफलमा आलुखेती हुने गरेको छ ।
यहाँका किसानले आव २०६९÷७० मा दुई हजार ३२५ हेक्टर क्षेत्रफलमा आलुखेती गरी २८ हजार ८३० मेट्रिक टन आलु उत्पादन गरेका थिए । यहाँ किसानले जनकदेव, कार्डिनल, कपुरी र सुन्दरी जातका आलुखेती गर्दै आइरहेका छन् । एक तथ्याङ्कअनुसार छिमेकी मुलुक भारतको भिट्ठामोड नाकाबाट मात्र वार्षिक रु ३० करोड २२ लाख ५० हजार मूल्य बराबरको आलु नेपाल भित्रिने गरेको छ । जसका कारण यहाँका उपभोक्ता तथा किसानमा परनिर्भरता बढ्दै गएको छ ।
उता प्लान्ट क्वारेन्टाइन चेकपोस्ट महोत्तरी जलेश्वरको एक तथ्याङ्कअनुसार भिट्ठामोड नाकाबाट मात्र अघिल्लो आवमा रु २२ करोड सात लाख ३८ हजार ७३३ मूल्य बराबारको आलु भारतबाट आयात गरी जनकपुर भित्रिएको थियो । भिट्ठामोड नाकाबाट आउने आलुको मात्र हामीसँग रेकर्ड हुन्छ तर महोत्तरीमै यस्ता थुप्रै खुला नाका छन् जहाँबाट आलु भित्रिन्छन् जसको हामीसँग लेखाजोखा हुँदैन प्लन्ट क्वारेन्टाइनका प्राविधिक सहायक सुरेशकुमार साहको भनाइ छ । धनुषा जिल्लामा आलुको उत्पादन र उत्पादकत्व घट्दै गएपछि यहाँका व्यापारी आलुका लागि छिमेकी मुलुक भारतमाथि निर्भर हँुदै गएका छन् । आव २०६४÷०६५ मा धनुषा जिल्लामा दुई हजार ७० हेक्टरबाट बढाएर आव २०६८÷०६९ मा यसको क्षेत्रफल दुई हजार ३२५ हेक्टरमा पु¥याएको देखिए पनि आलुखेतीमा भने किसान तथा व्यापारीको परनिर्भरता यथावत रहेको कृषि विज्ञहरूको भनाइ छ । धनुषा जिल्लाका किसानलाई सरकारले आलुको बीउमा अनुदान नदिएकाले यहाँका व्यापारीले किसानको मागलाई ध्यानमा राखी भारतबाट आलुको बीउ आयात गरी बिक्री गर्ने गर्दछन् ।
जनकपुर नगरपालिका वडा नम्बर–६ स्थित पेठिया बजार आलुको मुख्य मण्डी भएकाले यहाँका व्यापारीले आलु रोप्ने समयमा मात्र यस वर्ष करिब रु दुई करोड मूल्य बराबरको १५ हजार क्विन्टल आलुको बीउ बिक्री गरेको जनकपुर आलु व्यवसायी सङ्घका अध्यक्ष अलाउद्दीन राइनले बताउनुभयो । धनुषा जिल्लामा प्रत्येक वर्ष रु चार अर्ब ७३ करोड बराबरको विप्रेषण भित्रिन्छ तर उक्त रकम कृषि क्षेत्रमा लगानी नभएर अनुत्पादक क्षेत्रमा बढी लगानी गरेको पाइन्छ ।
आर्थिक उन्नतिको प्रमुख आधारको रुपमा रहेको आलुको उत्पादन बढाउन नसक्दा उत्पादन अभावको कारण यहाँको उपभोक्ता भारतबाट आयातित आलुमा निर्भर हुँदै आएका छन् । सरकारले किसानलाई आलु उत्पादनमा आत्मनिर्भर बनाउने हो भने वैज्ञानिक तरिकाको खेती प्रणाली, आलुको बीउमा अनुदान र सहुलियतदरको ऋण व्यवस्था गर्नुपर्ने माग यहाँको किसानको छ ।

प्रकाशित मिति: बुधबार, चैत्र ५, २०७०