मङ्लबार, जेष्ठ १५, २०८१

कृषि योग्य जमिनको दिनदहाडै वलात्कार भएको छ

sheshmani Bhattraiदेशमा लोकतन्त्र प्राप्ती पछि दीर्घकालीन सोच अनुसार वैज्ञानिक भूमिसुधारको नीति र कार्यक्रम आउने जनअपेक्षा थियो । विद्यमान भूमिको असमान वितरण,नियन्त्रण र खण्डिकरण जस्ता सामन्ती व्यवस्थाका अबशेषहरुलाई पन्छाएर कृषियोग्य भूमिको सुदृढिकरणका लागि चक्लाबन्दीको नीति आउने छ र समुन्नत नयां नेपाल बन्ने छ भन्ने जनताहरुको कल्पना केवल उनीहरुका कोरा कल्पनामा मात्र सिमित हुन पुगे ।  जनआस्था बढ्ने किसिमको अभ्यास,आर्थिक रुपान्तरण,दीगो कृषि उत्पादन, दीगो शान्ति जस्ता जनअपेक्षाका सवालहरु प्रति राजनैतिक पार्टीहरुबाट ठोस कार्य योजना र मार्गचित्र प्रस्तुत हुन सकेन । एकातिर सरकारले सहकारी खेती स्किम सञ्चालनगरी कृषकसंग भएका ससाना जमिनलाई एकिकरण गरी सामुहिक हितको लागि व्यावसायिकरण तर्फ उत्पे्ररित गराउन तथा जमिनको खण्डीकरणलाई रोक्न करोडौं रुपैंया खर्च गरिरहेछ भने अर्कोतिर व्यावसायिक कृषियोग्य भूमिका उर्वर फांटहरुमा अनियन्त्रितरुपमा घडेरी प्लटिंगगरी खण्डीकरण गर्ने कृयाकलापमा लागेका भूमाफियाहरुलाई सल्बलाउन कुनै रोक लगाएको छैन वरु उल्टै पार्टीगत छाता ओढाएर अभिपे्ररित गरिएको विरोधाभास स्थिति छ । म एउटा निरीह कृषि प्राविधिक विद्यमान स्थिति प्रति रमिते बनेर हेरिरहेको छु । दूर दराजतिर लखेटिएका मेरा विचारहरु वैज्ञानिक व्याख्या, विश्लेषण र मूल्यांकन गरी दवाव समुह मार्फत सरकारलाई झक्झक्याउन पनि सकिन । नागरिक समाजका आदरणीय मित्रहरुसंग लिखित गुनासो राख्न पनि गएको छैन । भूमि व्यवस्थापन पद्धतिको यो गाईजात्रे चालाबाट समग्र कृषि विकासमा पुगेको नकारात्मक प्रभावका मतियारहरु बिरुद्ध एक दिन औंला ठड्याएर विरोधका स्वर उराल्न सकेको छैन । मलाई ग्लानी महशुश भईरहेछ । कृषि प्राविधिक भएर कृषि योग्य जमिनको दिनदहाडै वलात्कार भएको दृष्य देख्दा समेत मैले सचेत नागरिकको सामान्य कर्तव्य समेत निर्वाह गर्न सकिरहेको छैन । मेरो पेशा प्रति धावा बोल्दा समेत मेरो मुख किन खुल्दैन ? व्यावसायिक खेती गरिएका बिशाल समथर फांट करेशावारीमा सिमित बनाईंदा पनि म बोल्न सकिरहेको छैन । बोल्न कोशिश गर्दा पनि मुखबाट आबाज निस्कंदैन ।

पहेंलपुर धान झुल्ने उर्वर खेतमा कालो पत्रे सडक लमतन्न परेर फैलिएर बसेको छ । खाद्य सुरक्षामा धावा बोल्दै प्लटिंग क्षेत्रमा गाडिएका विजुलीका अंधेरा पोलहरु उल्टै कृषि प्राविधिकहरुलाई जिस्क्याएर शीर ठाडो बनाएर हांसिरहेका छन् । रहर र भटमास फुल्ने धान खेतका आलीहरुमा भूमाफियाका चिल्ला वाईक र गाडीहरु कुदेका छन् । पानी वग्ने नहर र कूलाहरु घडेरी भित्र हराएका छन् । धान फल्ने यहांका मलिला खेतका गह गहमा आज भोली घडेरी भरी लुंडे कांडा र गन्दे झार फल्न थालेको छ । असारे गीत गाउंदै खेतमा छुपु छुपु गर्दै रोपाईं गर्ने दिदी वहिनीहरु ईजरायल तिर पलायन भएका छन् । १५ असारमा हिलाम्मे भएर दही चिउराको स्वादमा धान दिवस मनाउने हली र वाउसेहरु वेरोजगारीले छट्पटाएर खाडी मुलुक तिर श्रम बेच्न गएका छन् । स्वदेशको चौतर्फी विकासमा लाग्नुपर्ने ती परिश्रमी युवा हातहरु खाडीमा सस्तो मुल्यमा वेचिएका छन् । जीवनलाई धरापमा पारेर खाडीबाट खाई नखाई पठाएका रेमिटेन्स भूमाफियाका सांघुरा घडेरीहरुमा खुम्चीएर कैद भएका छन् । २।४ रुपीयां राजश्व संकलनमा बृद्धि भएको समाचार प्रशारण गरेर सरकारका मन्त्रीहरुले विकासको राग अलाप्दै जागीर पकाएका छन् । विनाशको भूमरी भित्र निरिह जनतालाई विकासको खोक्रो सपना बांडीरहेका छन् । राष्ट्रभक्ति, सेवा भाव, ईमान्दारिता, योग्यता र शिक्षा भूमाफियाहरुले थापेको एम्बुसमा परेर क्षत विक्षत अबस्थामा छट्पटाईरहेको छ । भएका हाम्रा उद्योग कल कारखानाहरु पनि दिनानुदिन बन्द हुने क्रममा छन् । यहां रोजगारीको अवशर नित्तान्त हराएको छ । हाम्रो शहरको वास्तविक रुपरेखा केवल सिटिईभिटिको एक बर्षे तालिम प्राप्त अमिनले कोरेको लाईनलाई पछयाउंदै हिंडिरहेको छ । समुद्रपारसम्म पुगेर ईञ्जिनियरिंग र शहरी विकास बिषयमा ल्याएका महंगा विद्यावारिधीको प्रमाण पत्र वेरोजगार भएर गोदरेज दराज भित्र थन्किएको छ । प्लटिंग गु्रपको काममा हाम्रा अमिन साहेबहरुको प्रमाणपत्रलाई भ्याई नभ्याई भएको छ । कृषि व्यवसायिकरण गर्ने फराकिला फांटहरु अमिनसाहेवको हातेव्यागभित्रको नटराज पेन्सिल र स्केलले चिरा चिरा भएको छ । कृषि उत्पादन गर्ने कर्मठ युवा हातहरु वेरोजगार भएर हातमुख जोर्ने विकल्पको पछ्याईमा भौंतारिरहेका छन् । भूमाफियालाई ह्विस्की र वीयर ख्वाउने दोहोरी सांझ र तन्दुरी क्याफेमा पो धमाधम रोजगारी खुलेका छन् । भूमाफियाकै घरको तला थप्ने काममा निर्माण सामग्री बोक्ने र उनीहरुकै प्लटिंगमा सडक कालो पत्रे गर्न अलकत्रा पकाउंदै छन् ।

वीउ विजन बेच्ने एग्रोभेट्सहरु सिमेण्ट र रड बेच्ने हार्डवेयर मा रुपान्तरण भएका छन् । गुणस्तरीय वीउ उत्पादन गरेर मुस्कुराउने खेतका फांटहरु घडेरी फलाएर अट्टहास गरेका छन् । कृषि प्रधान देशले कृषि योग्य भूमि लुटिएको टुलुटुलु हेर्दै चामलका वोरा आयात गरी रहेछ । जैविक विविधता संरक्षण गर्ने सपनामा तुषारापात भएको छ । जुन ५ को विश्व वातावरण दिवस टुहुरो भएको छ । हलो र कोदालो लिएर किसान खेल्ने खेतवारीका फांटहरुमा छिमेकी देशका मिस्त्रीहरु ज्यावल लिएर  खेलीरहेका छन् । १६ अक्टोवरको विश्व खाद्य दिवस अपाङ्ग भएको छ । विकासले अग्रगामी छलाङ्ग मार्नुपर्नेमा विनाश तिर धकेलिएको छ । राजनेताहरु स्वीट्जरल्याण्ड र सिङ्गापुरको सस्तो काल्पनिक सपनामा जनतालाई भुलाएर सुडान र ईथियोपिया बनाउने कसरतमा लागेका छन् । डबल डिजिटको आर्थिक बृद्धि दरको दन्त्यकथामा भुलाएर जनतालाई मन्द बिष पिलाएका छन् । हाम्रा धान फल्ने खेतमा घडेरी फलेको छ अनि ति प्लटिङ्ग गरिएका कालोपत्रे सडकमा सांझ तिर गांजा र स्म्याक्स पनि बलेको छ । भबिष्यका कर्णधार ती अनमोल टिनेजर युवा युवतीहरुको रोमान्सगर्ने उपयुक्त क्रिडास्थल पो भएको छ । अमुल्य जीवन वर्वाद भएको छ, समाज वर्वाद भएको छ, देश वर्वाद भएको छ, मेरो कर्तव्य वर्वाद भएको छ । भो म कर्तव्य वर्वाद हुन किमार्थ दिन्न । म दूर दराजबाट भए पनि मेरा दविएका स्वरहरु लिएर एकपटक मुख खोल्ने प्रयत्न गर्छु । शहरतिरको रमझममा बसेका र मस्त निद्रामा सुतेका दक्ष कृषि प्राविधिकहरु, नीति निर्माता तथा वातावरणविद्हरुलाई पनि ब्युंझाउंने जमर्को गर्छु । सुतेकाहरुलाई ब्रम्ह मुहुर्तमा उठेर एक पटक देशको अबस्था प्रति चिन्तन गर्न विनम्रतापूर्वक आग्रह गर्छु । भूमाफियाका प्लटिंगले चिरा पारिएका हाम्रा उर्वर व्यावसायिक फांटहरुको विकराल रुप देखाउंदै प्लटिंग गर्न नभ्याईएर वचे खुचेका टुक्रा टाक्री जमिनको उत्पादनबाट बढ्दो जनसंख्यालाई कसरी ख्वाउन सकिन्छ भनेर विज्ञहरुलाई यक्ष प्रश्न तेस्र्याउंछु । समस्याबाट भागेर विदेश पलायन हुने ह्ैन देशमा स्वाभिमानपूर्वक बस्ने सोच बनाउन अनुरोध गर्छु । ब्रेन डे«न भएर विदेश पुगेका दक्ष जनशक्तिलाई एकपटक मातृभूमी फर्केर कृषिको वर्तमान अबस्था र कृषि प्राविधिकको दायित्व शिर्षकमा वृहद् अन्तरक्रिया कार्यक्रममा रचनात्मक विचार पस्कन विनम्र अनुरोध गर्छु । राजनैतिक दलका नेतृत्वलाई अन्तरक्रियाका निष्कर्श सुनाउने व्यवस्था गर्छु अनि प्रतिबद्धता सहित भावी कृषि नीति तय गराएर कृषिको आधुनिकीकरण मार्फत समुन्नत नयां नेपाल बनाउने वातावरण तयार पार्छु । समयले हामीलाई धेरै पछाडी पारेर अघि बढीसकेको छ । हामी धेरै अबेर सम्म सुत्यौं । अब सुत्ने बेला छैन । -शेषमणि भट्टराई

प्रकाशित मिति: सोमवार, चैत्र ३, २०७०