बिहिबार, बैशाख १३, २०८१

चितवनमा मकैको बीउको माग बढ्दै

चितवन, २० फागुन । चितवन जिल्लामा विभिन्न अभियानमुखी कार्यक्रम सञ्चालन गरिएपछि मकैको बीउको माग अत्यधिक बढेको छ ।
गएको वर्षभन्दा यसवर्ष करिब दोब्बरले मकैको बीउको माग बढेको जिल्ला कृषि विकास कार्यालय चितवनले जनाएको छ । माग बढेपछि जिल्लामा वसन्ते मकैको बीउमासमेत अभाव देखिन थालेको कृषकले बताएका छन् ।
यस्तै अन्य जिल्लामा समेत मकै विकासका कार्यक्रम सञ्चालन गरिएकाले तराई र पहाडका विभिन्न जिल्लाबाट मकैको बीउ खरिद गर्न कृषक चितवन आइपुगेको कृषि कार्यालय चितवनका बाली विकास अधिकृत राजन ढकालले बताउनुभयो ।
उहाँका अनुसार यस वर्ष जिल्लामा लक्ष्यभन्दा बढी मकैको बीउ बिक्री भइसकेको छ । जिल्लामा ३५० मेट्रिक टन मकैको बीउ जाने देखिएकोमा अहिलेसम्म ४०० मेट्रिक टन मकैको बीउ किसानमाझ पुगिसकेको छ ।
अझै माग देखिएकाले बीउको अभाव हुने देखिएको छ । चितवनमा रामपुरको मकै अनुसन्धान कार्यक्रममार्फत पहाडे मकै विकास कार्यक्रम सञ्चालन गरिएको छ । यस्तै जिल्ला कृषि विकास कार्यालय चितवनले यस वर्ष एक हजार हेक्टर क्षेत्रमा मकैखेती विस्तार कार्यक्रम समेत सञ्चालन गरेको छ । जसका कारण मकैको बीउ सोचेभन्दा बढी माग भएको कार्यालयको अनुमान छ ।

 

प्रकाशित मिति: मङ्लबार, फाल्गुन २०, २०७०