बिहिबार, चैत्र १५, २०८०

अलैँची उत्पादनमा वृद्धि

तेह्रथुम, १९ फागुन । तेह्रथुमको श्रीजुङ्ग गाविसमा यस वर्ष ६ करोड मूल्य बराबरको अलैँची उत्पादन भएको छ । केही वर्षयता अलँैचीमा गानो कुहिने, पातमा छिर्के मिर्के र डढुवा रोग लागे पनि गाविसमा यो वर्ष एक मेट्रिक टनभन्दा बढी अलैँची उत्पादन भएको हो । श्रीजुङ्ग गाविसमा ८० प्रतिशत कृषकले अलँैचीखेती गर्ने गरेको गणेशकाली अलैँची उत्पादक कृषक समूहका सचिव चिरञ्जीवी दाहालले बताए । उनका अनुसार एक परिवारले वार्षिक एक मनदेखि १० मनसम्म अलैँची उत्पादन गर्ने गरेका छन् । श्रीजुङ्ग गाविसमा वार्षिक एक हजारदेखि एक हजार २०० मनसम्म अलैँची उत्पादन हुने गरेको कृषक समूहले जनाएको छ ।
कृषकले उत्पादन गरेको अलैँची बिक्रीबाट उनीहरुको जीविकोपार्जनमा धेरै सुधार आएको सामुदायिक वन उपभोक्ता गाउँ महासङ्घ श्रीजुङ्गकी सहजकर्ता बालकुमारी लिम्बूले बताए । अलँैची बिक्री गरेर नै कृषकले घरमा जस्तापाता लगाउनुका साथै तराईमा घरजग्गासमेत जोडेको लिम्बूले बताए । जिल्लामा यो वर्ष २४५ मेट्रिक टन अलैँची उत्पादन भई ४१ करोड रुपैयाँभन्दा बढी आम्दानी भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । अलैँचीको बजारमूल्य यस वर्ष तेह्रथुममा प्रतिमन ४२ देखि ७० हजारसम्ममा किनबेच भएको कृषकले बताएका छन् । जिल्लाको ३२ गाविसमध्ये २४ भन्दा बढी गाविसको ६५० हेक्टरमा अलैँचीखेती गर्ने गरेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख तपेन्द्र शाहाले बताए ।

प्रकाशित मिति: सोमवार, फाल्गुन १९, २०७०