शनिबार, बैशाख ८, २०८१

चिसोकाकारण दैनिक उपभोग्य वस्तुको मुल्य आकासीयो

सोलुखुम्बु, १८ फागुन । आज नाम्चेबजारमा लागेको साप्ताहिक हाटमा केरा प्रतिकोसा सरदर रु २० का दरले किनबेच भएको छ भने सुन्तला प्रतिदाना रु २५ देखि रु ३० मा किनबेच भएको स्थानीय शिक्षक खगिन्द्रराज बास्तोलाले जानकारी दिनुभयो । त्यस्तै बन्दा काउली प्रतिकेजी रु १५०, गाजर प्रतिपाथी रु २५०, स्थानीय अण्डा प्रतिवटा रु ३५ मा खरिद बिक्री भएको थियो । यसैगरी बजारमा भैँसीको मासु प्रतिधार्नी रु एक हजार ४०० र सुँगुरको मासु प्रतिधार्नी रु एक हजार २०० मा खरिद बिक्री भएको बजार प्रतिनिधि बास्तोलाले जानकारी दिए । जाडो छल्न अन्यत्र गएका स्थानीय फर्कने क्रम तथा पर्यटकीय मौसम सुरु हुने समयमा सो क्षेत्रमा सामानको मूल्य केही बढ्ने गरेको छ । आज नाम्चेको साप्ताहिक हाटमा कोदो प्रतिपाथी रु ५०० मा खरिद बिक्री भएको थियो । त्यस्तै मक्खन चामल प्रति ३० केजीको रु तीन हजार ८००, मैदा रु तीन हजार ६०० र चिनीप्रति केजी रु १५० मा खरिद बिक्री भएको थियो । यस्तै पाउडर दूध केजीको रु ७०० मा बिक्री भएको थियो । सामान्य हिउँ र वर्षासँगै चिसोका कारण नाम्चे बजारमा लाग्ने साप्ताहिक बजार प्रभावित भएको त्यहाँका व्यापारीहरूले बताएका छन् । हिलो तथा चिसोका कारण किनबेचमा समस्या भएको हो । यस्तै आज सल्लेरीस्थित नयाँ बजारको साप्ताहिक हाट पनि वर्षा र चिसोका कारण प्रभावित भएको थियो ।

प्रकाशित मिति: आइतवार, फाल्गुन १८, २०७०