बुधबार, बैशाख १२, २०८१

कृषि मन्त्रीले मुलुकमा कृषि क्रान्तिका लागि पहल गर्नै पर्छ -विष्णुलाल श्रेष्ठ

मुलुकमा नया“ सरकार गठन भएको छ । नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले शपथ ग्रहण गरेको दुई हप्ता बितिसकेपछि सरकारले पूर्णाकार पाउने संयोग जुट्यो । अझै साना दललाई मिलाउन सकेका छैनन् कोइरालाले । साना दलहरुले भागबण्डामा मन्त्री पदका धेरै सिट संख्या मागे पनि कोइरालाको क्षमताभन्दा बाहिरको कुरा छ त्यो । उनले दिन्छु भन्दा पनि दिन सकिने स्थिति अहिले छैन । कोइरालाले आफूसँग राखेको मन्त्रालयको संख्या भन्दा मन्त्री नियुक्ति गर्ने संभावना पनि छैन । तर जे होस् दुई ठूला दलबीचको लामो रस्साकस्सीपछि अन्ततः सरकारले आकार लियो । यो पनि खुसीकै कुरा मान्नुपर्दछ । मन्त्रालयको भागबण्डामा सवैलाई विभिन्न मन्त्रालय परेको खबर प्रकाशमा आएको छ । यसपालि कृषि मन्त्रालय नेकपा एमालेको पोल्टामा परेको छ । हरि पराजुलीले कृषि मन्त्रीको पद पाएका छन् । पद सम्हाल्ने मन्त्रीका लागि व्यक्तिगत स्वार्थका दृष्टिले यो कृषि मन्त्रालय केही होइन । अर्थ, गृह, वाणिज्य, जलस्रोत आदि इत्यादि फाइदाको हिसाबले उपयुक्त मन्त्रालय हुन सक्लान् । ती मन्त्रालयहरुको तुलनामा कृषि मन्त्रालयमा भाग खान पाइन्न । त्यो कुरा अर्कै हो । तर मुलुक कृषि प्रधान भएको नाताले यस मन्त्रालयको महत्व आफ्नै ठाउ“मा छ । अधिकांश मानिस कृषि पेशामा संलग्न छन् । धेरैजसोको आम्दानीको स्रोत पनि कृषि नै छ । सवैजसो कृषिमा आश्रित छन् । खेतीयोग्य जमिन प्रशस्त छन् । थुप्र्रै किसान विभिन्न खालका कृषि पेशामा आवद्ध छन् । हिजो भन्दा आज कृषि क्षेत्र फराकिलो र फस्टाउ“दै गएको देखिन्छ ।
हरि पराजुली आफैंमा लामो समयदेखि कृषि संगठनमा लागेका व्यक्ति हुन् । संवद्ध निकायमा रहेर काम गरेको अनुभव छ उनीस“ग । संयोग नै मान्नुपर्दछ नेकपा एमालेले २०५१ सालमा सरकार चलाउ“दा कृषि क्षेत्रका लागि राम्रै काम गरेको संझना ताजै छ जनताका मनमष्तिष्कमा अझै पनि । नौ स, आफ्नो गाउ“ आफैं बनाऔं । वृद्धवृद्धाका लागि राहत रकम जस्ता लोकप्रिय काम गरेको हो । दुई दशक बित्दा पनि जनताले ती सकारात्मक कामको प्रशंसा गरेकै छन् । एमालेले नौ महिनाभन्दा बढी सरकार चलाउन पाएन । पा“च वर्ष चलाउन पाएको भए यो कृषि प्रधान मुलकमा राम्रा, लोकप्रिय कामहरु धेरै हुने थिए । अहिले पनि एमालेले आफ्नो भागमा परेको कृषि मन्त्रालयमार्फत जनताका लागि धेरै काम गर्न सक्ने देखिन्छ । अरु मुलुकले कृषिका क्षेत्रमा जुन खालको कृषि क्रान्ति गरेर देशलाई समृद्धिको बाटोतिर अग्रसर गराए त्यसरी नै त्यही कुराको सिको गरेर नेपाललाई पनि माथि लग्न धेरै काम गनै सकिने संभावना छ । मन्त्री पद सानो होइन । जुन जुन मन्त्रालय जसका भागमा परेका छन् तिनले मन, वचन र कर्मले दिलो ज्यान दिएर काम गर्ने हो भने विकास हुन धेरै समय लाग्दैन । दुई वर्षअघिकै कुरा हो नेकपा एमालेका तर्फबाट मन्त्री बन्न पुगेका गोकर्ण विष्टले उर्जा मन्त्रालय सम्हालेर चमत्कार देखाए । सवैको वाहवाही लुटे । विद्युत प्राधिकरणको करोडौं नतिरेर बदमासी गर्ने व्यक्ति र संस्थाको बत्तिको लाइन काट्न मन्त्री आफै कस्सिए । म्यादभित्र रकम नतिर्ने व्यक्ति वा संस्थालाई रुवाएरै छाडे मन्त्रीले । जनताले निकै स्यावासी दिए । भक्तपुरमा नेताका पावरले सित्तैमा बिजुली बाल्ने व्यक्तिहरुलाई पनि राम्रै पाठ सिकाएका हुन् तिन्ले । नया“ बिजुलीका योजना ल्याए । चुहावट घटाए, जनतालाई बिजुली बाल्नका लागि अनुशासनको पाठ सिकाए । जनताका मनमा गोकर्ण विष्ट बेस्सरी जमेर बसे । ती घटनाक्रमहरु अझै मानसपटलमा ताजै छन् । निस्वार्थ व्यक्तिले देशका लागि जे पनि गर्न सक्छ । हिम्मत, साहस चाहिन्छ । स्वार्थभन्दा माथि उठेर गर्ने हो र मन्त्रालय सम्हाल्नेहरुमध्ये त्यस्ता १० जना गोकर्ण विष्ट हुने हो भने देशले केही वर्षमै फड्को मार्नेमा शंका रहन्न । यो पालि कृषि मन्त्रालय एमालेको भागमा परेको छ । कृषिमा क्रान्ति ल्याउने कुरा धेरै पहिलेदेखि चलिरहेको छ । जबसम्म कृषिमा समूलरुपमा क्रान्ति आउ“दैन तबसम्म देशले कोल्टो फेर्न सक्दैन । उन्नति प्रगति केही हुन सक्दैन । कृषिमा क्रान्ति ल्याउने संकल्प लिने हो भने हिजो उर्जाका क्षेत्रमा जसरी उन्नति प्रगति हासिल गर्न सकियो त्यसरी नै कृृषिमा पनि दिन दुई गुना रात चौगुना विकास गर्न सकिन्छ ।
कृषिमा अझै उही पुरानो प्रणाली र परम्परा कायमै छ । अत्याधुनिक औजार, बीउ, मल र कृषि प्रणालीको विकास गर्न सकिएको छैन  । मुलुकभर गरिने खेती प्रणालीमा पूरै परिवर्तन ल्याउनु जरुरी छ । कृषि विज्ञ, अत्याधुनिक कृषि, औजार, मल बीउ आदि भित्र्याउनु जरुरी छ । आफ्नो देशमा विज्ञहरुको अभाव भएमा बाहिरबाट भए पनि झिकाउनु पर्ने हुन्छ । भित्रैदेखि गर्छु भन्ने प्रतिवद्धता र संकल्प लिने हो भने कृषिमा क्रान्ति ल्याउन धेरै वर्ष कुर्नु पर्दैन । लगानी अरु क्षेत्रमा पनि सरकारले गरेकै छ । लगानी अनुसारको प्रतिफल खोजिन्छ । हाम्रो मुलुक कृषि प्रधान भएकै नाताले कृषिमा अरु क्षेत्रमा भन्दा लगानी र परिश्रम गर्नु आवश्यक पनि छ । अहिले गरिएका कृषि प्रणालीमा सुधार ल्याउनु पर्दछ । थोत्रा, मक्किएका प्रविधि, कुहिएका बीउ, सडेगलेका मल आदि प्रयोगमा ल्याइनु हुन्न । कृषि मन्त्रालय सम्हाल्ने मन्त्रीलाई कृषिमा क्रान्ति ल्याउन पूरै छुट हुनुपर्दछ । मन्त्रीको आफ्नो विवेक र विचारले मुलुकलाई कस्तो कृषि प्रविधि, कस्तो मल, बीउ विजन चाहिन्छ, कस्तो प्रणाली अपनाउनु पर्दछ भन्ने लाग्छ त्यही गर्नुपर्दछ । आफ्नो सही विचार र विवेकको प्रयोग गरेर यो देशलाई कृषिमय बनाउन लागिपर्नु पर्दछ । कृषिमा क्रान्ति ल्याउन अहिलेका कृषि मन्त्रीले कम्मर कसेर निस्वार्थता पूर्वक लाग्ने हो भने सारा जनताले अवश्य पनि सहयोग गर्ने नै छन् । यसमा सरकारले पनि पूर्णरुपमा साथ दिनुपर्दछ । यसो गरियो भने कृषि क्रान्तिका माध्यमबाट मुलुकको मुहार फेर्न धेरै कुनुपर्दैन । मात्र मन्त्रीको प्रतिवद्धता, दृढता, संकल्प चाहिन्छ । होस्टेमा हैंसे गर्ने जनता छँदैछन् । कृषि मन्त्रालय सम्हाल्ने मन्त्रीको विवेकले यतातिर काम गरोस् । बधाइ छ कृषि मन्त्रीलाई  ।

प्रकाशित मिति: आइतवार, फाल्गुन १८, २०७०