शनिबार, बैशाख ८, २०८१

प्रयोगात्मक शिक्षा र आयआर्जनका लागि आलुखेती

म्याग्दी, १८ फागुन । म्याग्दीको कुहँु–९ हिदीमा रहेको सिद्धशान्ति माविले विद्यालयको आयआर्जनका लागि आलुखेती सुरु गरेको छ ।
विद्यालय नजिकै करिब तीन रोपनी जग्गामा आलुखेती सुरु गरेको विद्यालयका प्रधानाध्यापक होमनाथ पाण्डेले कृषि अनलाईनलाई जानकारी दिनुभयो । patato
दुर्गम क्षेत्रमा सञ्चालन भएको उक्त विद्यालयमा आर्थिक सुधारका लागि आलुखेतीबाट सहयोग मिल्ने प्रअ पाण्डेले बताउनुभयो । उहाँले विद्यालयमा आवश्यक दरबन्दीको अभाव भएकाले स्थानीयतहबाट राखेका शिक्षकहरूको तलब भत्ताको व्यवस्थापन गर्नसमेत आलुखेतीबाट हुने आम्दानीले राहत मिल्ले आशा गरेको बताउनुभयो ।
हाल बेलायतमा रहनुभएका स्थानीय समाजसेवी लीलामान शेरपुञ्जाले उपलब्ध गराउनुभएको जग्गामा पहिलो चरणमा मुला र गाँजरखेती गरिसकेको र दोस्रो चरणमा आलुखेती सुरु गरेका जनाइएको छ ।
विद्यालयमा अहिले पाँच जना शिक्षकको तलब सुविधा स्थानीयतहबाटै विद्यालयले जुटाउँदै आएको प्रअ पाण्डेले बताउनुभयो । हिदीमा आलुखेती राम्रो हुने भएकाले सरकारले व्यवस्था गरेअनुसार कक्षा १–५ सम्म स्थानीय पाठ््यक्रम कार्यान्वयन गर्न र कक्षा ६ देखि ८ सम्म व्यवस्था भएको पेसा तथा व्यवसाय विषयको प्रयोगात्मक शिक्षणका लागि पनि आलुखेती सुरु गरिएको विद्यालयले जनाएको छ ।

प्रकाशित मिति: आइतवार, फाल्गुन १८, २०७०