जिरी, १६ फागुन । दोलखा जिल्लाको सदरमुकाम जिरीमा ५६ वर्षअघि स्वीट्जरल्याड सरकारको सहयोगमा स्थापना भएको जिरी पशु विकास फार्म यतिखेर सरकारी वेवास्ताको एउटा उदाहरण बनेको छ ।
तरपनि देशमा आवश्यक पर्ने गाई एवम् बङ्गुर उत्पादन तथा विकास गरी मुलुकको एकमात्र स्रोत केन्द्रका रूपमा विकास गर्न आवश्यक पर्ने यथेष्ट सम्भावना र पूर्वाधारसमेत रहेको यस फार्मतर्फ भने सरकारले ध्यान दिन नसकेको प्रष्टै देखिन्छ । जसले गर्दा यहाँको सम्भावना र स्रोतहरू खेर गइरहेको छ ।
जिरी बजारको फेदमा करिब ८५ हेक्टर जमिनमा करिब ५५ वर्षअघि स्थापना गरिएका महत्वपूर्ण संरचनासमेत रहेको यस फार्मसँगै कम्तिमा पनि ५०० गाई तथा त्यत्तिकै सङ्ख्यामा बङ्गुरपालन गर्नसक्ने क्षमता छ । तर यो फार्म बढीमा १०० गाईमा सीमित भएको छ । हाल त्यहाँ २० वटा मात्र बङ्गुर रहेका छन् ।
यतिधेरै क्षमता हुँदाहुँदै पनि सरकारले नै वर्षमा बढीमा ७० वटा माउ गाई र २० वटामात्र बङ्गुर भए पुग्ने गरी यस फार्मको अधिकतम् लक्ष्य तोकेको छ । त्यस्तै सरकारले वर्षमा बढीमा २४ देखि २५ वटामात्र बाछाबाछी उत्पादन गर्ने लक्ष्य निर्धारण गरेको छ ।
‘हामीसँग कम्तिमा पनि ५०० गाई पाल्नसक्ने तथा वर्षमा २०० भन्दा बढी बाछाबाछी उत्पादन गर्नसक्ने क्षमता छ तर पनि सरकारले भने माउ गाई जम्मा ७० वटा भए हुने गरी लक्ष्य तोकेको छ’ फार्मका व्यवस्थापक डा एस के सिंह बताउनुहुन्छ । उहाँका अनुसार बङ्गुर पनि २० वटा लक्ष्य तोकिएको छ ।
हाल त्यहाँ १०० वटा जर्सी गाई छन् र त्यसमा ४० वटा जति दुहुनो छन् । प्रत्येक दिन १७० लिटर दूध उत्पादन र बिक्री हुने गरेको छ । सरकारी कर्मचारीसहित हाल त्यहाँ १४ जना जनशक्ति कार्यरत छ ।
उक्त कार्यमा हाल बाछाबाछी उत्पादन गरेर प्रजनन कार्यका लागि पोखराको लामपाटामा पठाउने गरिन्छ । त्यहाँ बाछाको शुक्रकिट सङ्कलन गरी आवश्यकताअनुसार देशका अन्य भागमा पनि पठाउने गरिएको छ । त्यसैले यस देशका अन्य भागमा पनि पठाउने गरिएको छ । त्यसैले यस फार्मलाई दूध उत्पादनभन्दा पनि गाईको जात विकासको राष्ट्रियस्तरको एक स्रोत केन्द्रका रूपमा स्थापना गर्नुपर्नेमा जोड दिने गरिएको छ ।
व्यवस्थापक डा सिंह भन्नुहुन्छ “वर्षमा यति थोरै उत्पादनको लक्ष्य मात्र राख्ने हो भने कुनै किसानको समूह वा व्यक्तिलाई नै दिने हो भने पनि भइहाल्छ नि ! यसका लागि त सरकारले यति कर्मचारी एवम् साधनस्रोतको व्यवस्थापन गरिरहन नै पर्दैन नि ! उहाँको भनाइअनुसार उक्त फार्मलाई नेपालमा गाई उत्पादन र विकासको एक स्रोत केन्द्रका रूपमा विकास गर्न सकिन्छ ।
नेपालमा गाई उत्पादनका प्रशस्त सम्भावना छन् र पछिल्लो समयमा देशका विभिन्न ठाउँमा व्यावसायिक रूपमा गाईपालन गरिएका छन् । तर नेपालमा गाईपालन गाह्रो छ भने पशु आयातको नीति पनि नेपाल र यसका छिमेकी देशसँग छैन । त्यसैले व्यावसायिक गाईपालनका लागि गाई पाउन अत्यन्तै गाह्रो छ । हाल भारतबाट लुकिछिपी गाई ल्याउने गरिएको छ ।
नेपालमै गाई उत्पादनका लागि आवश्यक स्रोत केन्द्रका रूपमा यस फार्मलाई विकास गरिनुपर्ने समय समयमा पशु विकासका विज्ञ एवम् अधिकारीले जोड दिँदै आएको भए पनि सरकारले ध्यान दिन नसकेको बताइएको छ ।
फार्म व्यवस्थापक डा. सिंहले पनि बर्सेनि यस फार्मबाट कम्तिमा तीन÷चार सय गाई उत्पादन गर्न सकिने बताउनुहुन्छ । यदि यसो गर्न सकिएमा नेपालमा अत्यधिक मात्रामा माग भई आएको गाईको आपूर्ति गर्न पनि सकिने उहाँको भनाइ छ । नेपालमा यसको व्यावसायिक खेती गर्न चाहने किसानले गाई वा बाछाबाछी नै किन्न पाउने गरी यस फार्मलाई विकास गरिनुपर्ने उहाँको सुझाव छ ।
विसं २०१४ मा स्वीस र नेपाल सरकारको संयुक्त लगानीमा कृषि फार्मका रूपमा गाई, भैँसी, बङ्गुरपालनका साथै बागवानीका लागि समेत गरी बहुउद्देश्यीय कृषि फार्मका रूपमा सञ्चालन सुरु गरिएको थियो ।
पछि २०२२ सालमा ती विभिन्न आयोजना नेपालका विभिन्न मन्त्रालयमा गाभियो र गाईपालन मात्र यहाँ राखियो । त्यसको केही समयपछि त्यहाँबाट स्वीसहरूले पनि हात झिकेपछि नेपाल सरकारले नै यसको सञ्चालन गर्दै आएको छ ।
यस फार्मका प्राविधिक कमल चौलागाईं नेपाल जस्तो कृषि प्रधान देशका लागि फार्मबाट सरकारले गाई एवम् पशुपालनका क्षेत्रमा अत्यधिक फाइदा लिनसक्ने भए पनि माल पाएर चाल नपाएको अवस्थामा रहेको बताउनुहुन्छ । कर्मचारीले गर्छाैँ भन्दा पनि सरकारले थोरै मात्र लक्ष्य तोकेर आयोजनालाई खुम्च्याएर राख्नु लाजमर्दो काम भएको उहाँको भनाइ छ ।
स्थानीयवासी आङ टेण्डी शेर्पा यस क्षेत्रका लागि सो फार्म बरदान नै सावित भएको बताउनुहुन्छ । दूध, बङ्गुर तथा गाई पनि स्थानीयले आवश्यकताबमोजिम प्राप्त गर्न सकिरहेका छन् भन्दै उहाँले पनि उक्त फार्मको समयानुकूल विकास गर्न सरकारले ध्यान नदिएको गुनासो गर्छन् ।
यहाँ प्रशस्त जग्गा भएकाले बर्सेनि ५०० जति गाईलाई आवश्यक चरनका साथै घाँससमेत उत्पादन हुन सक्दछ । स्थानीय नागरिक पनि त्यहाँको उत्पादन पाएसम्म अन्यन्त्र किन्न जाँदैनन् । तर पनि क्षमता खुम्चिएर काम गरिरहेको भए पनि यस फार्मले गत वर्ष रु ३० लाख खुद आम्दानी गरेर नेपाल सरकारलाई बुझाएको छ ।
स्थानीय नश्लका गाई तथा बङ्गुरका नश्ल सुधार गरी उत्पादकत्व वृद्धि गर्ने र शितोष्ण जलवायुमा हुने चरन घाँसका बीउ एवम् बेर्ना उत्पादन गरी वितरण गर्ने प्रमुख उद्देश्य यस फार्मले राखेको छ । यसले प्रजननका लागि उन्नत जर्सी तथा ब्राउन स्वीस जातका साँढे उत्पादन र बिक्री गर्ने गर्दछ ।
यसका साथै गाई भैँसीमा कृत्रिम गर्भाधान, गाईमा प्राकृतिक गर्भाधान सेवा दिनुका साथै पशुपालनका लागि आवश्यक प्राविधिक सरसल्लाह र तालिम दिने काम पनि यसले गर्दछ । तर यसलाई नेपालमा अभाव हुँदै गएको गाईको उत्पादन र आपूर्तिका लागि आवश्यक स्रोत केन्द्रका रूपमा विकास गर्न सकिए यसले नेपालमा व्यावसायिक गाईपालनका लागि ठूलो सघाउ पुग्नेछ । (एकराज पाठक)
Add Comment